Thursday, April 7, 2016

उनन्चालीस महिना धर्ना बस्दा पनि माग पूरा भएन

काठमाडौँ, २६ चैत । विभिन्न आठसूत्रीय माग राखेर करिब ३९ महिनादेखि धर्ना बस्दै आएका ज्येष्ठ नागरिकको माग अहिलेसम्म पूरा हुन सकेको छैन । धर्ना बस्दै आएका ज्येष्ठ नागरिकमध्ये १५ जनाको धर्ना बस्दाबस्दै मृत्यु भइसकेको छ ।

विसं २०६९ फागुन २४ गतेदेखि मीनभवनस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागको कार्यालय ढोकाअगाडि दैनिक रुपमा धर्ना बस्दै ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ९(२) ले सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकलाई कम्तीमा ५० प्रतिशत छुट दिने गरेको व्यवस्था तुरुन्त लागू गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् । उनीहरूले सर्वोच्च अदालतले २०६७ साल चैत २४ गते सरकारको नाममा जारी गरेको परमादेशको आदेश तुरुन्त लागू गर्नुपर्नेसमेत माग गरेका छन् ।

ज्येष्ठ नागरिक संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा सुरु गरिएको धर्नालाई विभिन्न राजनीतिक दलका शीर्षनेता तथा मन्त्रीले धर्नास्थलमा पुगेर माग पूरा गरिदिने आश्वासन दिए पनि माग पूरा हुन सकेको छैन ।

समितिका अध्यक्ष महाप्रसाद पराजुलीले रासससँग कुरा गर्दै अब माग पूरा नगरिए सडकमै आत्मदाह गर्नेसम्मका सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो । २०६८ सालको जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या करिब २२ लाख रहेको छ । पछिल्लो पटक महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झालाई आफूहरूले भेटेको र भेटका क्रममा झाले माग पूरा गराउनका लागि सरकारसँग पहल गर्ने आश्वासन दिएको समेत अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts