काठमाडौँ, ८ वैशाख । विगतमा एमाओवादीबाट अगल भएका विभिन्न राजनीतिक दलबीच द्वन्द्वकालीन मुद्दाका सम्बन्धमा समान धारणा बनाएर अघि बढ्ने सहमति भएको छ ।
एनेकपा (माओवादी) मुख्यालय पेरिसडाँडामा आज बसेको नेकपा माओवादी, नयाँ शक्ति नेपाल, नेकपा क्रान्तिकारी माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको बैठकमा उक्त समझदारी बनेको हो ।
सत्यनिरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारभित्र पर्ने द्वन्द्वकालीन विषयवस्तुलाई अदालतबाट विस्तृत शान्तिसम्झौता विपरीत निर्णय सुनाउने आफ्ना कार्यकतालाई पक्राउ आदेश जारी भएको घटनाको बैठकमा आलोचना भएको थियो ।
बैठकपछि एमाओवादीका नेता रामनारायण विडारीले द्वन्द्वकालीन मुद्दा सत्यनिरुपण आयोगले हेर्नुपर्नेमा साधारण अदालतमा अझै त्यस्ता मुद्दा कायम रहेकाले त्यसको तत्काल निकास दिनेगरी निर्णय गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय भएको बताउनुभयो ।
विस्तृत शान्तिसम्झौताको पालना गर्न, द्वन्द्वकालीन मुद्दालाई निकास दिन आवश्यक कानुन र नजिरमा सुधार ल्याउन राजनीतिक दबाब दिने उद्देश्यले साझा धारणा बनाउन बैठक बोलाएर छलफल भएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा माओवादीका अध्यक्ष मातृका यादव, नयाँ शक्ति नेपालका हिसिला यमी, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका संयोजक मणि थापा सहभागी हुनुहुन्थ्यो । रासस
No comments:
Post a Comment