बुटवल, २७ चैत । संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संविधान विश्वकै उत्कृष्ट र समावेशी भएको बताउनुभएको छ ।
उहाँले संविधानसभामा ९० प्रतिशतभन्दा धेरैको सहमतिमा अनुमोदनबाट बनेको संविधानका विरुद्ध छरिएका अनावश्यक भ्रमहरु चिर्न अब सबै नेपाली एकजुट भएर लाग्नुपर्नेमा पनि जोड दिनुभयो ।
नेकपा (एमाले) रुपन्देही ४ नं क्षेत्रीय कमिटीको आज बुटवलमा भएको अगुवा कार्यकर्ता भेलामा बोल्दै एमाले स्थायी समिति सदस्यसमेत रहनुभएका नेम्वाङले संविधानको कार्यान्वयन गर्दै समृद्ध मुलुक निर्माणमा केन्द्रित हुन सबैलाई आह्वान गर्नुभयो ।
उहाँले पाँच वर्ष आठ महिनाको निरन्तरका छलफल, संवाद र पहलकदमीबाट बनाएको संविधानलाई कुनै देशको संसद् बैठकमै वरिष्ठ मन्त्रीले भ्रम छर्ने काम गरेको बताउनुभयो । संविधान जारी भएयताको अवधिमा तराईका २० जिल्लामा मात्रै दुई हजारभन्दा धेरै भारतीय चेलीले नेपालको अङ्गीकृत नागरिकता पाएको विवरण आफूलाई आएको पनि नेता नेम्वाङले प्रष्ट पार्नुभयो ।
उहाँले संविधानसभामा रहेका ३२ वटा दल र स्वतन्त्रसमेतका सभासद्को समझदारीमा बनेको संविधान राजनीतिक सहमति र समझदारीको साझा दस्तावेज भएको उल्लेख गर्नुभयो । नेता नेम्वाङले यो संविधान विश्वकै समावेशी, लोकतान्त्रिक र लचिलो संविधान रहेको बताउनुभयो । तर, संसारभरि चलेका कतिपय संवैधानिक प्रावधानलाई पनि नेपालका विरुद्ध अनावश्यक भ्रम सिर्जना गर्ने काम भएको भन्दै उहाँले विरोध गर्नुभयो ।
अगुवा कार्यकर्ता भेलामा अर्का नेता एमाले स्थायी समिति सदस्य छविलाल विश्वकर्माले एमालेको अगुवाइमा बनेको संविधानको कार्यान्वयनका लागि पनि एमालेले नै अगुवाइ गर्नुपर्ने खाँचो रहेको बताउनुभयो ।
पार्टी क्षेत्रीय कमिटीका अध्यक्ष रमेश नेपालको अध्यक्षतमा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लीला गिरी, अञ्चल कमिटीका कार्यालय सचिव गोपाल भट्टराईलगायतका नेताले बोल्नुभएको थियो । रासस
No comments:
Post a Comment