काठमाडौँ, १५ वैशाख । मदिरा तथा सुर्तीजन्य वस्तुको उत्पादनलाई निरुत्साहित गरी कृषकलाई उत्पादनशील क्षेत्रमा अभिप्रेरित गर्नुपर्नेमा आज राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरुले जोड दिए ।
क्यान्सर काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रममा मदिरा तथा सुर्तीजन्य वस्तुको उत्पादनले नागरिकलाई रोगी बनाउने र दक्ष जनशक्ति उत्पादनमा ह्रास ल्याउने तर्क उनीहरुले अघि सारे ।
व्यवस्थापिका–संसद्का सदस्य एवम् अर्थशास्त्री डा वीरेन्द्र महतोले नेपालमा विशेष गरी मदिरा तथा सुर्तीलाई शान तथा लत रुपमा उपभोग गर्ने गरेको बताउँदै तराईमा ९० प्रतिशतले सुर्ती र दुर्गममा ६० प्रतिशतभन्दा बढीले धूमपान गर्ने गरेको जानकारी दिनुभयो ।
बजेट निर्माण गर्दा मदिरा तथा सुर्तीजन्य उत्पादनलाई निरुत्साहित गर्न त्यस्ता उत्पादनमाथि अधिकतम कर लगाउन पनि माग गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयका उपसचिव खिमानन्द भुसालले उत्पादनपछि यस्ता वस्तुका खराब असरबारे ९० प्रतिशत विज्ञापन छाप्नुपर्ने व्यवस्था गरिएको र जथाभावी बिक्री वितरणमा प्रतिबन्ध लगाइएको बताउनुभयो ।
प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले कानुन विपरीत उत्पादन तथा बिक्री गर्ने र सार्वजनिकस्थलमा यस्ता वस्तुको सेवन गर्नेलाई कानुनबमोजिम कारबाही गर्न मातहतका अधिकारीलाई निर्देशन दिनुभयो ।
क्यान्सर काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाले मदिरा र सुर्तीजन्य वस्तुको नियन्त्रणका लागि केही कानुनी व्यवस्था गरिएको भएपनि कार्यान्वयन पक्ष फितलो भएको बताउनुुभयो । रासस
No comments:
Post a Comment