चितवन, ६ वैशाख । फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाका साक्षीसँगको बकपत्र लिने काम आज सम्पन्न भएको छ ।
जिल्ला अदालत चितवनमा आज २१ जनाले बकपत्र दिएका छन् । आठ जनाको आइतबार बकपत्र लिइएको अदालतका स्रेस्तेदार विद्याराज पौडेलले बताउनुभयो । बकपत्रका लागि गोरखाको फुजेल र रत्ननगर लगायत विभिन्न स्थानबाट साक्षी अदालतम उपस्थित भएका थिए । केही अभियुक्त पनि अदालतमा देखिएका थिए । बकपत्र सकिएसँगै न्यायाधीश वासुदेव पौडेलको इजलासमा मुद्दा पेसीमा जाँदैछ । पेसीको मितिको टुङ्गो मङ्गलबार लाग्ने अदालतले जनाएको छ ।
सशस्त्र द्वन्द्वका समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न चितवनको जयमङ्गला आएका बेला २०६१ जेठ २४ गते तत्कालीन नेकपा(माओवादी)का कार्यकर्ताले कृष्णप्रसादलाई अपहरण गरी रत्ननगरको बकुलहरमा हत्या गरेको अभियोग लगाइएको छ । फुजेल गाविस–७ का १८ वर्षीय अधिकारीको हत्याविरुद्ध जिल्ला अदालत चितवनमा कर्तव्य ज्यान मुद्दा चलिरहेको छ ।
घटनालगत्तै कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पनि किटानी थिएन । त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।
जिल्ला अदालतले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये सात जनालाई धरौटीमा र चार जनालाई साधारण तारेखमा छाडेको थियो । दुई जना अदालतको सम्पर्कमा आएका थिएनन् । तीमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आइएको थियो ।
सरकारी वकिलका तर्फबाट थुनछेक मुद्दालाई पुनरावेदन अदालतमा पेस भएकामा २०७१ असारमा पुनरावेदन अदालत हेटौँडाले जिल्ला अदालत चितवनको आदेशलाई सदर गरेको थियो । त्यसपछि सर्वाेच्च अदालतमा थुनछेक बहसपछि गत पुस ६ गते अभियुक्त १३ जनामध्ये छविलाल पौडेललाई थुनामै राखेर बाँकी कारबाही किनारा गर्नू भन्ने आदेश दिइएको थियो । सो आदेशपछि पौडेल फरार छन् ।
किटानी जाहेरी परेकामा छविलाल, भीष्मराज पौडेल, पर्शुराम पौडेल, मेघनाथ पौडेल, कालीप्रसाद अधिकारी, रामप्रसाद अधिकारी (क र ख), विष्णु तिवारी, हिमलाल अधिकारी, जानुका पौडेल, सीता अधिकारी, सुभद्रा तिवारी र रुद्र आचार्य रहेका छन् ।
छोरा कृष्णप्रसादको हत्यारालाई कानुनी कारबाहीको माग राखी अनशन बसेकै क्रममा बाबु नन्दप्रसादको गत २०७१ असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो । उनको अझैसम्म पनि अन्यष्टि हुन सकेको छैन भने आमा गङ्गामाया अझै पनि अस्पतालमा अनशनमै रहेकी छन् । रासस
––––––––
No comments:
Post a Comment