Wednesday, April 6, 2016

श्यामप्रसादको अभिनन्दन वैशाख २९ मा

काठमाडौँ, २४ चैत । प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष श्यामप्रसादको राष्ट्रिय अभिनन्दन आगामी वर्ष वैशाख २९ गते हुने भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्यसचिव डा जीवेन्द्रदेव गिरीको उपस्थितिमा श्यामप्रसाद राष्ट्रिय अभिनन्दन मूल समितिका अध्यक्ष राम विनयको अध्यक्षतामा आज यहाँ बसेको दोस्रो बैठकले अभिनन्दनका साथै उहाँको स्वास्थ्योपचार र अभिनन्दन कृति तथा उहाँका विभिन्न पुुस्तकलाई खण्डखण्ड गरी पुनःप्रकाशन गर्ने निर्णय पनि गरेको छ । श्यामप्रसाद प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य पनि हुनुुहुन्छ ।

अभिनन्दनका लागि अर्थ सङ्कलन, प्रचारप्रसार, ग्रन्थ प्रकाशन र स्वास्थ्योपचार उपसमितिमा क्रमशः वासुदेव अधिकारी, श्रीओम रोदन, जगत् प्रेक्षित र वाचस्पति देवकोटा रहनुभएको छ । मूल समिति हाल १५१ सदस्यीय रहे पनि त्यसलाई विस्तार गरिने जनाइएको छ ।

विसं २००९ मा श्यामप्रसाद र केही साथीको पहलमा वीरगन्जमा सङ्घको गठन गरिएको थियो । उहाँका निबन्ध, दैनिकी, गीत, कविता, बालसाहित्य तथा धर्म, अर्थ, अनुवाद आदि गरी ५७ कृति प्रकाशित छन् । उहाँका ‘तँ’, ‘तिमी’, ‘तपाईँ’, ‘हजुर’ निबन्ध सङ्ग्रह, ‘बहिनीलाई चिट्ठी’, ‘थुनुवाको डायरी’, ‘मेरी आमा’ कृति प्रसिद्ध छन् । अहिले स्थानीय हात्तीसारमा बस्दैआउनुभएका उहाँलाई नसासम्बन्धी रोगबाट पीडित हुनुहुन्छ । उहाँको जन्म विसं १९८६ असार ६ गते मकवानपुर, मन्थली, सोलीथुममा भएको हो ।

बैठकमा समितिका सहसंयोजक हेमनाथ पौडेल र सदस्यसचिव डा देवी नेपालले अभिनन्दन सफल पार्न विभिन्न संस्थाहरुलाई पनि आह्वान गरिने बताउनुभयो । श्यामप्रसादमाथि प्रा धर्मराज अधिकारीले विद्यावारिधि तथा डिल्ली पाण्डेलगायतले शोध गरिसक्नुभएको छ भने नरनाथ लुइँटेलले विशेष अध्ययन अनुसन्धान र प्रकाशन तथा ‘नागार्जुन’ साहित्यिक पत्रिकाले विशेषाङ्क निकालिसकेको छ ।

प्रलेसको सम्मेलन शनिबार
प्रलेसको दशौँ अधिवेशन यही चैत २६ र २७ गते हुने भएको छ । सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्ने छ । त्यस्तै बिहीबार आठ वर्षपछि साझा प्रकाशनको ३६औँ साधारणसभा हुने भएको छ । प्रकाशन सञ्चालक समितिमा डा विजय सुब्बा, जीवनचन्द्र कोइराला, हरिहर खनाल र मनोहर लामिछाने उम्मेदवार हुनुभएको छ, जसबाट तीन जना निर्वाचित हुनुहुने छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts