Wednesday, April 13, 2016

एमाले बैठकमा समूहगत प्रस्तुति सकियो

काठमाडौँ, १ वैशाख । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटिको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा समूहगत छलफलको प्रस्तुति सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आज बाँकी दुई समूहका टोली नेता क्रमशः शेरबहादुर तामाङ र केदार न्यौपानेले सुझाव दिनुभएको छ । छलफलका लागि १० समूह विभाजन गरिएकामा गत चैत २९ गतेको बैठकमा विभिन्न आठ समूहका टोली नेताले प्रस्तुति गरेका थिए । समूहका नेताले सुझाव प्रस्तुत गर्दै पार्टी महाधिवेशनको मर्म र भावनाअनुसार अघि बढ्नुपर्ने, गुटबन्दी अन्त्य हुनुपर्ने, राष्ट्रिय विकासका कार्यक्रममा सरकार क्रियाशील हुनुपर्ने धारणा दिएका छन् । समूहगत प्रस्तुतिमाथि आएका सुझाव र आलोचनाबारे अध्यक्ष ओलीले बिहीबारको बैठकमा प्रत्युत्तर दिएपछि सो प्रतिवेदन पारित हुनेछ ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार आजै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासी र केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

गत चैत २७ गतेदेखि जारी बैठकका लागि स्थायी कमिटीका निर्णय अनुमोदन, पार्टी विभागमा मनोनयन, पार्टीका विभिन्न आयोगका प्रतिवेदन, पार्टी विधानमा बाधा अड्काउ फुकाउ गरी सङ्घीय संरचनाको सङ्गठन निर्माण, बल्खुमा केन्द्रीय कार्यालय भवन निर्माण र समसामयिक राजनीतिक प्रस्तावलगायत कार्यसूची छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts