Friday, April 29, 2016

थानापतिमा वसन्त काव्ययात्रा

थानापति(नुवाकोट), १७ वैशाख । स्थानीय जनज्ञान निकेतन उमाविमा आज वसन्त काव्ययात्रा गरिएको छ ।
मध्याह्नको चर्काे घामको प्रवाह नगरी राष्ट्रियस्तरका स्रष्टा र स्थानीय प्रतिभाका रचना प्रस्तुति शिक्षक अभिभावक तथा राजनीतिक कार्यकर्ताले रसास्वादन गरेका थिए ।

करिब ३५ स्रस्टाले समसामयिक र राष्ट्रिय भावका साथै हास्यव्यङ्ग्य पनि पस्केका थिए । सो उमावि, ‘संसाक’ मासिक पत्रिका र काठमाडौँको दीपज्योति आवासीय मावि आयोजक रहेको कार्यक्रमामा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरी, डा रमेशचन्द्र अधिकारी, डा रामप्रसाद ज्ञवाली, भुवनहरि सिग्देलदेखि नयाँ पुस्ताका सुनिता सापकोटासम्मले रचना प्रस्तुत गरेका थिए ।

अन्य कविमा डा सत्यराज थपलिया, नरनाथ लुइँटेल, डम्बर घिमिरे, रामबहादुर पहाडी, श्रीधर पौडेल, कुन्तबहादुर श्रेष्ठ, महेश सिलवाल, जगदीश्वर पोखरेल, रत्ननिधि शुक्राचार्य, बलराम दाहाल, सुरेश सुवेदी, प्रकाश सिलवाल, मणिराज सिंह, यशोदा अधिकारी, उमेश पाण्डे, भैरवी ढुङ्गाना, राधा कार्की, द्वारिका कुइँकेल, रुद्र अधिकारी, श्यामराज पाठक, सीता विष्ट कार्की, डिल्लीप्रसाद मूलतिउन, तारा केसी, सविना सिन्धु, कृपाचन कृपालु, जनार्दन अधिकारी, रामकृष्ण बस्नेत, विमला थपलिया लगायत हुनुहुन्थ्यो ।

सो अवसरमा सदस्य सचिव डा गिरीले सबै भाषासंस्कृतिलाई संरक्षण गर्दै साहित्यिक रचनालाई विभिन्न राष्ट्रभाषामा अनुवाद समेत गरी फिँजाउनुपर्ने बताउँदै साहित्यले समय र इतिहाससँग जोड्ने भएकाले यसको विकासका लागि गाउँ तहमा हुने यस्ता प्रयासले राष्ट्र निर्माणमा बल पुग्ने जनाउनुभयो ।

विद्यालयका प्राचार्य ताराप्रसाद पाठकले ग्रामीण बस्तीमा साहित्यिक गुञ्जन हुनाले आनन्द र ज्ञान मिलेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस र नेकपा (एमाले) का गाउँ कमिटीका अध्यक्ष रामकृष्ण डङ्गोल र पदमबहादुर थपलिया, समाजसेवी मोहनलाल पाण्डेलगायत सहभागी हुनुहुन्थ्यो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts