काठमाडौँ, १७ वैशाख । “तिम्ले मलाई छाडेको दिन त…दिउँसै सूर्य अस्तायो एक छिन त…के भनौँ र खोइ धोका दिनेलाई, के भनौँ र खोइ, तिमी हाँस भो मै बसौँला रोई … ।”
पछिल्लो समय कर्णप्रियताको शिखर चुमेको लोकगीतका हरफका रचनाकार सूर्यकुमार क्षेत्रीको भौतिक शरीर अब रहेन । तर उहाँका सिर्जनाले उहाँलाई सधैँ सधैँ जीवन्त बनाइरहने छ । लोकप्रिय गीतका शब्दले भने जस्तै स्व क्षेत्रीले आफ्नो जीवनको छोटो समयमा कहिल्यै रोएर बस्नु परेन बरु आफू हाँसेरै गए र आफ्ना शुभचिन्तकलाई दुःखित बनाए ।
‘के भनौँ र खोइ’ नामक गीतिसङ्ग्रहमा शब्द भरेका चर्चित गीतकार तथा सञ्चारकर्मी क्षेत्रीको ३३ वर्षको अल्पायुमै बिहीबार भएको निधनले गीत सङ्गीत र पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पु¥याएको छ ।
युवा गायक राजु परियार, कस्तुप पन्त र विष्णु माझीले गाएको ‘धोका दिनेलाई के भनौँ र खोइ…’बोलको गीत क्षेत्रीको जिन्दगीसँग मेल खायो आखिर धोका दिने जिन्दगीले उहाँलाई कहिल्यै नफर्किने गरी बिहीबारदेखि छाडेर गइगयो ।
उनी ‘धानको सिरांैला, दुःख पर्दा लाएको गुनैको पंैचो तिरौँला …’, ‘ग¥यौ घात रितैको साथ, न्यानो देख्यौ पराइको त्यो साथ, औँठी चिनो छ, मायाको सम्झना फिर्ता दिनु छ …’, जस्ता अनगिन्ती चर्चित गीतका सर्जक थिए ।
वन पखेरामा गुनगुनिने स्थानीय लोकभाकालाई टपक्क टिपेर आफ्नो लोकगीतमा ढाल्न खप्पिस लोकगीत सङ्कलक क्षेत्रीको बेजोड प्रतिभाले उनलाई आज साङ्गीतक आकाशको उचाइमा पु¥याएको त छ नै पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिकाले पनि उनलाई अविष्मरणीय बनाएको छ ।
क्षेत्रीको पार्थिव शरीरमा श्रद्धाञ्जलि व्यक्त गर्न प्रज्ञा भवन कमलादी पुगेका भावुक मुद्रामा देखिने अग्रज तथा समकक्षी कलाकारको गला अवरुद्ध थियो र आँखा रसाएका थिए । क्षेत्रीका बारे शब्द धेरै थिए तर तिनले व्यक्त गर्न सकिरहेका थिएनन् । कलाकार, पत्रकार राजनीतिज्ञ तथा सर्वसाधारणको आँखा रसाएका थिए ।
निकै भावुक मुद्रामा वरिष्ठ लोकगायिका विमाकुमारी दुराले मौलिक लोक गीतसङ्गीतका खानी युवा कलाकारको निधनले आफूहरुलाई मर्माहित भएको बताउनुभयो । क्षेत्रीले गीतसङ्गीत र पत्रकारितामार्फत समाज परिवर्तनमा पु¥याएको योगदानलाई चिरस्थायी बनाउन राज्यले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
लोक गायिकाद्वय लक्ष्मी न्यौपाने र शर्मिला गुरुङले लोकसङ्गीत मात्र नभई पत्रकारिताका मूर्धन्य व्यक्तिको निधनले देशलाई नै क्षति पुगेको बताउनुभयो । हास्य शृङ्खला ‘मेरी बास्सै’का मुख्य कलाकार सीताराम कट्टेलले पत्रकारिता मात्र नभई चर्चित कलाकारका रुपमा परिचित क्षेत्रीको निधनले आफूहरु शोकमा डुबेको बताउनुभयो । “कर्मशील सर्जकको निधनले दुःख लागेको छ, मेरो नजिकका मित्र क्षेत्रीले मेरी बास्सैमा पनि धेरैसल्लाह दिनुभएको थियो, उहाँको निधनले म भक्कानिएको छु,”–उहाँले भन्नुभयो ।
उनीसित सान्निध्य गरेका गीत तथा सङ्गीतकार एकनारायण भण्डारीले क्षेत्रीको निधनले नेपाली लोकसङ्गीतको क्षेत्रमा ठूलो असर परेको बताउनुभयो । उहाँले लोकसङ्गीतलाई नजिकबाट नियाल्ने र सटिक ढङ्गले प्रस्तुत गर्ने क्षेत्री यस क्षेत्रमा भएका विकृतिलाई उजागर गर्न सक्ने प्रखर व्यक्तित्व भएको बताउनुभयो ।
क्षेत्रीले ५० भन्दा बढी चर्चित लोकगीत सङ्कलन गर्नाका साथै त्यत्तिकै सङ्ख्यामा आधुनिक गीत पनि लेख्नुभएको छ । उहाँका आधा दर्जन एकल एल्बम पनि छन् ।
क्षेत्रीका प्रायः चर्चित गीतमा नृत्य निर्देशन गर्नुभएका कलाकार शङ्कर बिसी असाध्यै राम्रो शब्दका खानी क्षेत्रीको निधनले सङ्गीत क्षेत्रले होनहार प्रतिभा गुमाएको बताउनुहुन्छ ।
क्षेत्रीको लोकप्रिय ‘धोका दिनेलाई के भनाँै र खोइ…’ बोलको गीत गाउनुभएका राजु परियारले भावुक मुद्रामा भन्नुभयो – “शब्दमा धेरै बयान गर्न सक्दिन तर हामीले एउटा कमलको थुँगा भुइँमा झरेर कुल्चेर हिँडेको अवस्था रह्यो लोकसङ्गीतका लागि ।”
क्षेत्री जीवनको अन्तिम घडीमा ‘हातमा सुनको चुरा लाउनेले… यति चोखो पिरती छुटायौ पँधेरीमा कुरा लाउनेले…’, गीतिसङ्ग्रह(एल्बम) निकाल्ने तयारी गर्दै हुनुहुन्थ्यो तर अधुरै रह्यो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष दुर्गा रायमाझीले क्षेत्री गीतसङ्गीत, पत्रकारिता र राजनीतिक क्षेत्रमा चर्चित व्यक्तित्व भएको उल्लेख गर्नुभयो ।
उहाँले मौलिक लोकगीत र सुगम सङ्गीतमा उत्कृष्ट रचना र संरक्षणमा क्षेत्रीको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । क्षेत्रीका चर्चित गीत गुनगुनाएर भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएका गायक परियार मान्छे जीवित हुँदा त्यति ध्यान नदिने मृत्युपछि सम्झिने परिपाटिको अन्त्य हुनुपर्ने बताउनुहुन्छ ।
सङ्गीत संयोजक विनोद बाजुराली क्षेत्री मौलिकपनमा गीतसङ्गीत र पत्रकारितामा मात्र नभई क्षेत्री बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो भन्नुहुन्छ । प्रेम तथा भावनात्मक शब्द भर्ने क्षेत्री नेपाल प्रेस युनियनका सचिवसमेत हुनुहुन्थ्यो । उहाँ मिजासिलो भएकै कारण उहाँका धेरै दौंँतरी छन् ।
निधनमा एक दिन शोक व्यक्त गर्दैमा क्षेत्रीको आत्माले शान्ति नपाउने बताउँदै उहाँको सिर्जनाको सम्बद्र्धन र परिवारको उचित हेरचाह गर्न राज्यले विशेष ध्यान दिनुपर्ने कलाकारले सुझाएका छन् । रासस
No comments:
Post a Comment