काठमाडौँ, १० वैशाख । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको समस्या समाधान गर्न र भूकम्पपछिको पुनःनिर्माणमा वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको बताउनुभएको छ ।
नेविसङ्घ उदयपुर–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले संविधान कार्यान्वयन नै अहिलेको प्रमुख कार्यभार भएको उल्लेख गर्नु भयो । नेता सिंहले नेविसङ्घको केन्द्रीय अधिवेशन पार्टीको केन्द्रीय समितिको बैठकले तय गरेर छ महिनाभित्र सम्पन्न गर्ने बताउनुभयो ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य डा नारायण खड्काले संविधान कार्यान्वयनमा सरकार गम्भीर नदेखिएको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयो ।
सम्पर्क समितिका सभापति चेतन थापामगरको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा विजयी डा खड्कालाई सम्मान गरिएको थियो । रासस
No comments:
Post a Comment