काठमाडौँ, १० वैशाख । राष्ट्रिय समाचार समिति (रासस)का बारेका शोधार्थीलाई शोधवृत्ति दिन नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले कोष खडा गरेको छ ।
प्रतिष्ठानको वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहमा राससका बारेमा शोधपत्र तयार गर्ने विद्यार्थीलाई जनही रु १० हजारको शोधवृत्ति प्रदान गर्ने निर्णय गरिएको हो ।
राससका अध्यक्ष कुलचन्द्र वाग्लेले नसुनिने, नबोलिने र नदेखिने संस्थाका रुपमा रहेको राससको योगदानबारे सेवाग्राहीले थाहा पाउन नसकेको र यहाँबाट उत्पादित समचार, तस्बिर र श्रव्य सामग्रीका बारेमा प्रयोगकर्ता सञ्चारमाध्यमले कमै मात्रामा श्रेय दिने गरेको गुनासो गर्नुभयो ।
वैचारिक रुपले विभिन्न सङ्घसङ्गठन रहे पनि यहाँका पत्रकारमा व्यावसायिक निष्पक्षता रहेको उल्लेख गर्दै उहाँले भूकम्पका बेला यहाँका पत्रकार तथा कर्मचारीले पु¥याएको योगदान प्रेरणादायी भएको बताउनुभयो ।
राससका महाप्रबन्धक निर्मला आचार्यले सबै पत्रकारको सहयोग र मेहनतले गठन भएको रासस प्रतिष्ठान शाखालाई राम्रा कार्ययोजना ल्याउन सुझाव दिनुभयो भने नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीले पत्रकारको पेसा सम्मानित हुँदै आएको र लेखेरै पनि जीवन निर्वाह गर्न सक्ने अवस्था महासङ्घले सिर्जना गरेको छ भन्नुभयो ।
प्रधान सम्पादक राजु शाक्यले राससको समाचार सुदृढीकरण, विविधीकरण तथा सञ्जाल विस्तार गर्न र व्यवस्थापनलाई सहयोग तथा खबरदारी गर्न पनि प्रतिष्ठान अग्रसर हुनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुरज आचार्यले पत्रकारको साझा संस्थाका रुपमा रहेको महासङ्घ आफ्नो साझा पहिचान जोगाउन प्रयासरत रहेको उल्लेख गर्दै पत्रकारका पेसागत सुरक्षाको अभाव हुन नदिन राससले पनि आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पत्रकारलाई व्यावसायिक रुपले शुद्ध र योग्य बनाउन र व्यावसायिक दक्षता अभिवृद्धि गर्न पहल भए यसमा महासङ्घले पनि सघाउने जानकारी दिनुभयो ।
महासङ्घका अर्का केन्द्रीय सदस्य रोशन पुरीले समाचारदाता नियुक्तिमा कार्यकर्ता भर्ती केन्द्रजस्तो नबनाई प्रतिस्पर्धाबाट नियुक्ति गर्न सुझाव दिँदै एक पटक बनाइएको विधिले दीर्घकालसम्मको समस्या समाधान हुने बताउनुभयो ।
त्यस्तै रासस, अङ्ग्रेजी सम्पादन शाखा प्रमुख दीपराज सन्याल, प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत, नेपाल प्रेस युनियन राससका उपाध्यक्ष मोहिनी मिश्र, रासस कर्मचारी सङ्घका कोषाध्यक्ष शशीधर अधिकारी, प्रेस चौतारी नेपाल राससका सभापति कृष्णराज गौतम, नेपाल क्रान्तिकारी पत्रकार सङ्घ राससका अध्यक्ष युवराज पाण्डे, राष्ट्रिय कर्मचारी सङ्गठन राससका उपाध्यक्ष रामलाल श्रेष्ठले महासङ्घका गतिविधिबारे चर्चा गर्नुभयो ।
सभामा रासस प्रतिष्ठानका अध्यक्ष विष्णु नेपालद्वारा प्रस्तुत भावी कार्ययोजना र सचिव वासुदेव पौडेलद्वारा प्रस्तुत वार्षिक कार्य प्रतिवेदन पारित भएको थियो । रासस
No comments:
Post a Comment