पोखरा, १० वैशाख । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सबै सरकारी तथा गैरसरकारी कार्यालयबाट सूचना पाउनु सबै नागरिकको नैसर्गिक अधिकार भएको बताउनुभएको छ ।
राष्ट्रिय सूचना आयोग स्थापनाको आठौँ वर्ष पुगेका उपलक्ष्यमा यहाँ आज आयोजित सूचनाको हक कार्यान्वयनसम्बन्धी क्षेत्रीयस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले मागे अनुसारको सूचना दिन आलटाल गर्ने र दिन नचाहनेलाई कारबाही समेत गरिने भनी सचेत गराउनुभयो ।
सूचना माग्दा दिन नचाहने थुप्रै राष्ट्रसेवक कर्मचारी कारबाहीमा परेको उदाहरण पेस गर्दै बाँस्कोटाले सूचना दिँदैमा आफूलाई केही हुन्छ कि भनेर डराउनु पर्दैन भन्नुभयो ।
सूचना आयुक्त यशोदा तिम्सिनाले सबै कार्यालयको कामकारबाहीको सूचना पाउने हक सबै नागरिकमा रहेको बताउनुभयो ।
पश्चिमाञ्चलका क्षेत्रीय सहप्रशासक दिवाकर बाँस्कोटाले मागेको सूचना दिन नसकेमा हाम्रो जिम्मेवारी पूरा हुन सक्दैन भन्नुभयो ।
कास्कीका प्रजिअ हरिप्रसाद मैनालीले जिल्लामा सूचनासम्बन्धी हकलाई प्रभावकारी बनाउन आफू प्रयासरत रहने जानकारी गराउनुभयो । रासस
No comments:
Post a Comment