काठमाडौँ, २६ चैत । प्रहरीले नक्कली भारतीय रुपैयाँ पाँच सय दरका २० हजार थान नोट गरी भारु एक करोडसहित छ जनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालय विशेष ब्युरोको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँ समेतको संयुक्त टोलीले प्रहरीले ठमेल, बानेश्वर र बल्खुबाट गरी उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाकिस्तान कराँचीका महम्मद नदिम, बानेश्वर बस्ने मकवानपुर हरनामाडीकी ५५ वर्षीया उमादेवी पाण्डे, नोटको कारोबार गर्न काठमाडौँ आएका बारा सिमराका ५६ वर्षीय महादेव तिमिल्सिना, महोत्तरी माइस्थानका ४० वर्षीय दीलबहादुर थापा, पर्सा भौराटारका ५८ वर्षीय परमानन्द यादव र बारा गन्जभवानीपुरका इश्वरप्रसाद साह तेली रहेका छन् ।
उनीहरुमध्ये नदिमलाई ५० लाखसहित ठमेलबाट, तिमिल्सिनालाई ५० लाखसहित बानेश्वरबाट, पाण्डेलाई बानेश्वरबाट र थापालाई बल्खुबाट चैत २२ गते तथा यादव र तेलीलाई चैत २४ गते बल्खुबाट पक्राउ गरिएको हो ।
नदिमले कराँचीबाट दोहा हुँदै कतार एयरवेजबाट नक्कली भारतीय रुपैयाँ काठमाडौँ ल्याएको अनुसन्धानको क्रममा खुलेको महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक प्रतापसिंह थापाले जानकारी दिनुभयो ।
पाण्डेले नदिमसँग सामान बुझी वीरगन्जबाट आएका तिमिल्सिनालाई बुझाउने जिम्मेवारी लिएको तथा थापाले तिमिल्सिनासँग सामान बुझी भारततर्फ लैजाने उनीहरुको योजना रहेको प्रहरीले जनाएको छ । अभियुक्तमध्ये यादव र तेलीले बजार वितरण गर्ने जिम्मेवारी लिएको देखिएको छ ।
अनुसन्धानका क्रममा खुलेका अन्य संलग्न पाकिस्तानी, भारतीय र नेपाली नागरिक हाल फरार रहेकाले खोजी भइरहेको तथा यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस
No comments:
Post a Comment