काठमाडौँ, ३० चैत । विश्वदर्शन अभियान नेपालले नयाँ वर्ष २०७३ को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्दै आज नयाँ वर्षको क्यालेन्डर विमोचन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष तथा साहित्यका पवन आलोकले नयाँ वर्षको क्यालेन्डर विमोचन गर्दै पूर्वीय संस्कृतिको संरक्षण र विकासमा अभियानले गरेको योगदानको सराहना गर्नुभयो ।
उहाँले पूर्वीय संस्कृतिको एक पक्ष योगको ठूलो महत्व रहेको बताउँदै यसले अमेरिका लगायत विश्वका अन्य भागमा पनि प्रभाव फैलाउन सफल रहेको बताउनुभयो ।
अर्का अतिथि राससका वरिष्ठ कार्यकारी सम्पादक तीर्थप्रसाद भट्टराईले २०७२ मा भूकम्प र नाकाबन्दी जस्ता दुःखद घटना भए तापनि नयाँ वर्षमा नयाँ आशा जगाउँदै आफनो क्षेत्रमा सक्रीय भएर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले हालै प्रधानमन्त्रीको चीन भ्रमणको टोलीमा आफू सम्मिलित भई जाँदाको अनुभव सुनाउँदै चीनले विभिन्न राजनीतिक किचलोमा नअल्मलिई द्रुतगतिले आर्थिक विकास गर्न सकेको र नेपालमा अनेक निहुँमा आन्दोलन र नाकाबन्दीजस्ता कुरामा अल्झेर देशलाई पछि पार्न नहुने बताउनुभयो ।
कार्यक्रममा यौगिक समाज नेपालका अध्यक्ष पुरुषोत्तम अधिकारी, विश्वदर्शन अभियान कोषका संयोजक इन्द्र कर्माचार्य, उपसंयोजक शीवराज घिमिरे, कोषका सल्लाहकार शंकर चापागाईं, अभियानका अध्यक्ष नवराज भट्टराई तथा महासचिव नारायणप्रसाद भट्टराईले नयाँ वर्षमा नयाँ अठोटका साथ कार्य गर्न अग्रसर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा साहित्यकार पवन आलोकले केन्द्रको आश्रम बनाउन स्थापित अभियान कोषलाई रु १० हजार प्रदान गर्ने बताउनुभयो भने सम्पादक तीर्थप्रसाद भट्टराईले कोषलाई रु पाँच हजार उपलब्ध गराउने वचन दिनुभयो ।
अभियानका अध्यक्ष तथा महासचिव भट्टराईद्वयले आफ्नो विश्वभ्रमण क्रममा हालसम्म नेपाल, भारत र भुटानको भ्रमण गरिसक्नुभएको छ । रासस
–––––––––
No comments:
Post a Comment