धुन्चे (रसुवा), १७ वैशाख । बिहीबारदेखि बन्द रसुवागढी नाका आज अपराह्नदेखि खुला भएको छ ।
सुरक्षाकर्मीद्वारा बन्द नाका खुलाइएपछि चीनबाट आयात हुने सामग्री नेपालको उत्तरी नाका रसुवागढीबाट धमाधम नेपाल भित्रन थालेको र आयात भइसकेका सामग्रीको भन्सार शुल्कबाट तीन घन्टाको अन्तरालमा रु पाँच करोड ७६ लाख राजस्व सङ्कलन भएको भन्सार अधिकृत श्याम बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार मङ्सिर १४ गतेदेखि आज साँझसम्म रु एक अर्ब ३५ करोड ३० लाख सङ्कलन भइसकेको छ । सरकारी र सार्वजनिक जग्गामा सुक्खा बन्दरगाह बनाउनुपर्ने माग राख्दै भन्सार कार्यालय टिमुरेको परिसरमा स्थानीय बासिन्दाले रातभर सडकमै सुती सवारी यातायात बन्द गरेपछि स्थानीय प्रशासनको आदेशमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिउँसो बल प्रयोग गरी सडक खुलाएपछि अहिले साँझ ६ बजेसम्म ५५ मालवाहक कन्टेनर टिमुरेबाट आफ्नो गन्तव्यतर्फ हिँडिसकेको सशस्त्र प्रहरी प्रमुख दर्शन गिरीले जानकारी दिनुभयो ।
टिमुरे गाविस वडा नं ४, ५, ६ मा बन्ने सुक्खा बन्दरगाह निर्माणका लागि व्यक्तिगत जग्गा साढे तीन हेक्टर अधिकरण भइसकेको छ । मुआब्जा निर्धारणको प्रक्रिया अगाडि बढिसकेको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज टिमुरे चौकीदेखि दक्षिण अन्तर्राष्ट्रिय मार्गको पश्चिम प्रहरी चौकी तलसम्म भोटेकोसीको तटीय क्षेत्र पूरै सुक्खा बन्दरगाह बन्ने इलाका भएको रसुवाका प्रजिअ कृष्णप्रसाद अधिकारीले बताउनुभयो । यही वैशाख २१ गते मुआब्जा निर्धारण भइसक्ने छ । सरकारी र व्यक्तिगत जग्गा मिलाई सुक्खा बन्दगाहको इलाका साढे आठ हेक्टर हुने बताइएको छ ।
टिमुरे गाविसमा गठित सुक्खा बन्दरगाह सरोकार सङ्घर्ष समितिका संयोजक दोर्जे तामाङद्वारा रसुवाका प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सुक्खा बन्दरगाह क्षेत्र निर्माणमा पुनर्विचार गरिनुपर्ने माग गर्नुभयो । समितिले सकेसम्म सार्वजनिक जग्गा प्रयोगमा ल्याइनुपर्ने, गाउँलेको जग्गा अधिग्रहण गरेबापत वडा नं ६ तातोपानीको सार्वजनिक जग्गा उपलब्ध गराइनुपर्ने, सडक विस्तार गर्दा थप जग्गा अधिकरण गर्न नहुने र जग्गाप्राप्ति ऐन, २०३४ को दफा २७ बमोजिम वार्ताद्वारा न्यायपूर्ण तवरले कार्यान्वयन गरिनुपर्ने जस्ता विविध माग प्रस्तुत गरेको छ । रासस
No comments:
Post a Comment