काठमाडौँ, २३ चैत । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले (इसिमोड)ले जलसम्पदाको दिगो विकासका लागि देशका विभिन्न क्षेत्रको अवलोकन गर्ने भएको छ ।
पछिल्लो समय जलवायु परिवर्तनसँगै जलसम्पदा विस्तारै सुक्दै गएकाले यसको संरक्षण सम्वद्र्धनका लागि विभिन्न क्षेत्रको भ्रमण गर्न लागेको हो ।
भ्रमणमा सिन्धुपाल्चोकको जुरेमा गत वर्ष गएको पहिरो, भूकम्पले कतिपय ग्रामीण क्षेत्रमा पानीका मुहान सुकेको हुँदा त्यस क्षेत्रको अध्ययन गर्न लागेको छ । साथै कोसी जलाधार क्षेत्रको समेत भ्रमण गर्ने भएको छ ।
भ्रमणको सम्बन्धमा आज सञ्चारकर्मीसँग भएको छलफल कार्यक्रममा इसिमोडका महानिर्देशक डेभिड मोेल्डनले वातावरणलाई बचाउन सञ्चारकर्मीको ठूलो भूमिका हुने हुँदा सञ्चारकर्मीसहितको टोली सो स्थानमा जान लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा इसिमोडका निर्देशक एकलव्य शर्मा, कार्यक्रम प्रबन्धक अरुणभक्त श्रेष्ठ, इसिमोडका सञ्चार विशेषज्ञ डा गोपीलाल आचार्य, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल, नेपाल खानेपानी संरक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा दीपक ज्ञवाली र हेल्भेटास नेपालका आर्थिक व्याख्याकार डा नीलहरि न्यौपानेलगायतले जलवायु र जलसम्पदाको संरक्षणमा सबै एक भएर लाग्नुपर्ने बताउनुभएको थियो ।
भ्रमणमा इसिमोडका कर्मचारीका साथै नेपाल तथा भारतका सञ्चारकर्मीको सहभागिता रहनेछ । रासस
No comments:
Post a Comment