काठमाडौँ, २६ चैत । ‘दोस्रो अन्तर दोहोरी साँझस्तरीय राष्ट्रिय दोहोरी गीत रनिङ शिल्ड प्रतियोगिता–२०७२’ को दोस्रो चरण आजदेखि सुरु भएको छ ।
यही चैत २४ गतेदेखि राजधानीको भृकुटीमण्डपमा जारी प्रतियोगितामा सहभागी देशभरका करिब ३९ दोहोरी साँझमध्ये दोस्रो चरणमा पुगेका १४ टोलीबीच तेस्रो चरणका लागि प्रतिस्पर्धा सुरु भएको छ । १४ मध्ये सात टोली तेस्रो चरणमा पुग्नेछन् भने उनीहरु पुनः चौँथो चरणका लागि आमनेसामने हुनेछन् ।
त्यसपछि चौँथो चरणमा अन्तिम चारमा पुगेका टोलीबीच अन्तिम दुईका लागि भिडन्त हुनेछ । फाइनलमा पुगेका दुई टोलीबीच भएको अन्तिम स्पर्धाद्वारा विजेता घोषित हुनेछ ।
‘हाम्रो अभियान, लोक संस्कृति संरक्षण, स्रस्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ चैत २८ गतेसम्म चल्ने प्रतियोगितामा नयाँ अनुहारका दोहोरी गायकगायिकाको सहभागिता छ ।
त्यस्तै, पुराना तथा व्यावसायिक कलाकारले विभिन्न प्रस्तुति दिनका साथै नृत्यकारले नृत्य प्रस्तुत गरेर कार्यक्रमको शोभा बढाएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा भएको प्रतियोगिता विशेषत दोहोरीमा नयाँ प्रतिभाको खोजी रहेको सांस्कृतिक संयोजक तथा गायिका राधिका हमालले बताउनुभयो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले रु ७७ हजार ७७७ का साथै एउटा गीत रेकर्ड गर्ने स्टुडियो खर्च, छायाङ्कन खर्च र प्रवद्र्धन खर्च प्राप्त गर्नेछ । त्यस्तै द्वितीयले रु ५५ हजार ५५५, तृतीयले रु ३३ हजार ३३३ र सात्वनाले रु ११ हजार १११ पाउने छन् । त्यसैगरी उत्कृष्ट गायकगायिकालाई रु नौ हजार ९९९ पुरस्कार प्रदान गरिने छ । रासस
No comments:
Post a Comment