काठमाडौँ, २६ चैत । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा) ले नेपालको पर्यटन प्रवद्र्धनका लागि चीनका विभिन्न शहरमा विशेष कार्यक्रम गर्ने भएको छ ।
नेपाल पर्यटन बोर्ड, नेपाली राजदूतावास र बेइजिङसँगको सहकार्यमा मित्र राष्ट्र चीनमा नेपालको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्न लागिएको नाटाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
यही १० अप्रिल २०१६ देखि एक सातासम्म चीनको राजधानी बेइजिङ र अन्य तीन सहरहरु हाङजाउ, साङ्घाइ तथा छन्दुमा बृहत प्रवद्र्धनात्मक कार्यक्रम गरिने जनाएको छ । भूकम्प र नाकाबन्दीलगायत कारण नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभाव न्यूनीकरण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नाटाले आयोजना गर्न लागेको उक्त कार्यक्रमअन्तर्गत ‘बी टु बी’ र पत्रकार सम्मेलनलगायतका कार्यक्रम सञ्चालन गरिने छ ।
सङ्क्रमणको चेपुवामा परेको पर्यटनले विस्तारै तङ्ग्रिदै गरेको अवस्थामा आयोजना गर्न लागिएको यो कार्यक्रमपछि साढे दुई लाख चिनियाँ पर्यटकको आगमन हुने प्रक्षेपण नाटाको छ । नाटाका अध्यक्ष मधुसुदन आचार्यले चिनियाँ पर्यटकलाई नेपालतर्फ आकर्षित गर्न प्रवद्र्धनात्मक कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।
नेपालले विकसित मुलुकसँग प्रतिस्पर्धा गर्नुपरेकाले सम्भावनासँगसँगै चुनौती पनि रहेको उल्लेख गर्दै उहाँले प्राकृतिक तथा सांस्कृतिक महत्वका पर्यटकीय गन्तव्यको प्रवद्र्धन र पूर्वाधार विकासका लागि दूरदर्शी योजना निर्माण गर्नुपर्ने आवश्यकता औँलाउनुभयो ।
एक करोड २० लाख चिनियाँ नगारिकले संसारका विभिन्न ठाउँ घुम्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै अध्यक्ष आचार्यले त्यसको केही हिस्सामात्रै नेपालमा आकर्षित गर्ने योजना बनाउन सकिए देशको पर्यटनले फड्को मार्ने बताउनुभयो ।
चीनपछि आगामी जुनमा दक्षिण कोरिया र भारतमा पनि यस्तो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको नाट्टाका उपाध्यक्ष सिएन पाण्डेले बताउनुभयो । उहाँले चीनको कार्यक्रमको अन्तिम तयारी भइरहेको र नेपाल सरकारबाट चिनियाँ पर्यटकको लागि घोषित भिसा निःशुल्कलगायत नयाँ प्याकेज बनाएर उक्त कार्यक्रममा सहभागी हुने जानकारी दिनुभयो ।
नाटाका अनुसार चीनमा प्रारम्भिक तयारी गर्न पिआरलाई हायर गर्ने तथा कार्यक्रम आयोजनार्थ चारवटै सहरका उपयुक्त होटलको खर्चको व्यवस्था मिलाइदिने सहमति भइसकेको छ ।
नाटाले यस कार्यक्रमको लागि नाटा कार्यकारी सदस्य शीतलकुमारी शर्मा पौडेलको संयोजकत्वमा छुट्टै समिति नै गठन गरेको छ । उक्त कार्यक्रमको लागि नाटाको तर्फबाट चार जनासहित २८ जना नेपाली पर्यटन व्यवसायी सहभागी हुनेछन् ।
कार्यक्रम अप्रिल ११ मा बेइजिङको होलिडे इन्टरनेसनलमा नेपाल प्रवद्र्धन कार्यक्रम गरिनेछ । उक्त कार्यक्रमको लागि नेपाली राजदूतावासका राजदूत डा महेश मास्के, पर्यटनका लागि नाटाका सदभावना दूत चिनियाँ रङ्गकर्मी जिआन मिङ याङलगायतको सहभागिता रहने छ ।
अप्रिल १४ को बेलुका हाङजाउको वेस्ट वेस्टर्न हाङजाउ होटलमा पुनः अर्को कार्यक्रम हुनेछ । त्यस्तै अप्रिल १५ मा चीनको औद्योगिक एवम् व्यावसायिक सहर साङ्घाइको ग्राण्ड होटलमा हुनेछ र अन्तिम कार्यक्रम अप्रिल १८ मा छन्दुको टियनफु सनसाइन होटलमा सम्पन्न हुनेछ ।
यो वर्ष नाटाले आयोजना गरेको यो दोस्रो कार्यक्रम हो । नाटाले गत जनवरीमा स्पेनको म्याड्रिडमा फिटुर २०१६ सफलतापूर्वक सम्पन्न गरेको थियो । रासस
No comments:
Post a Comment