तिलोत्तमा (रुपन्देही), १८ वैशाख । उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले सहकारीको विकास र नियमनका लागि सरकारले नयाँ ल्याउन लागेको सहकारी नीतिबाट कोही पनि आत्तिनु नपर्ने भन्दै उहाँले कुनैकुनै सहकारी आफ्नो नीतिभन्दा बाहिर गएकाले उनीहरुलाई नयाँ नीतिले ठीक बाटोमा ल्याउनेसमेत बताउनुभयो ।
विकास बहुउद्देश्यीय सहकारी संस्था तिलोत्तमा–५ शङ्करनगरले सञ्चालनमा ल्याएको ‘व्यावसायिक नेपाली कोसेली घर’को आज उद्घाटन गर्दै मन्त्री पाण्डेयले आर्थिक समृद्धिको अभियानमा साथ दिन सहकारी संस्था लाग्नुपर्ने बताउनुभयो ।
सहकारीलाई निरुत्साहित गर्ने गरी ऐन नआउनेप्रति विश्वस्त पार्दै उहाँले भन्नुभयो–“जुनजुन सहकारी नीतिनियमअनुसार अगाडि बढेका छन् उनीहरुका लागि नयाँ नीति थप लाभदायक हुन्छ ।”
नेपालमा अहिले पनि करिब ३१ प्रकारका वस्तु बढीमात्रामा आयात भइरहेको भन्दै उहाँले सहकारीमार्फत लगानी गरी ती वस्तुको आयात प्रतिस्थापन सम्भव भएको बताउनुभयो ।
उहाँले राजनीतिक अधिकारको लडार्इंबाट नेपालीले महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै अबको यात्रा आर्थिक समृद्धिको भएको बताउनुभयो ।
सहकारी संस्थाका अध्यक्ष नेत्रप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरे, घरेलु उद्योग महासङ्घका अध्यक्ष कन्हैयालाल कसौधनलगायतले नयाँ नीतिबाट गलत काम गर्नेमात्र आत्तिएको बताउनुभयो । रासस
––––––––
No comments:
Post a Comment