तुलसीपुर (दाङ), २७ चैत । राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले नेपालमा धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र घोषणा नहुँदासम्म आन्दोलन नरोकिने उद्घोष गर्नुभएको छ ।
राप्रपा नेपालले आज तुलसीपुरमा आयोजना गरेको मध्यपश्चिमस्तरीय हिन्दू जागरणसभालाई सम्बोधन गर्र्दै उहाँले जनजागरण सभा नै आन्दोलनको स्वरुप भएको बताउनुभयो ।
पार्टीले धर्मनिरपेक्ष राष्ट्रसहितको संविधान स्वीकार गर्न बाध्य भएको र त्यसलाई कमजोर ठानी अहिले पनि केही विदेशी डलरको भरमा धर्मान्तरण भइरहेकाले अब हिन्दू राष्ट्र घोषणा नगर्दासम्म आन्दोलन नरोक्ने बताउनुभयो ।
संविधानबाटै हिन्दू राष्ट्र जारी गराउने गरिएको अनेकौँ प्रयास असफल भएपछि बाध्य भएर आलोचनात्मक रुपमा धर्म निरपेक्षसहितको संविधान स्वीकार गरेकाहौँ – उहाँले भन्नुभयो ।
संविधान स्वीकार नगरी सशस्त्र आन्दोलन गर्ने, हतियार उठाउने र जङ्गल पस्ने विकल्पभन्दा शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने वैकल्पिक बाटो राप्रपा नेपालले रोज्नुपरेको उहाँको भनाइ छ ।
आन्दोलन र जनजागरणबाटै नेपाली नागरिकलाई सशक्तीकरण गरी नागरिकको दबाबमा संविधान संशोधन गरी हिन्दू राष्ट्र घोषणा गर्न सक्ने अवस्थाको सिर्जना गराइने दाबी गर्नुभयो ।
यसैबीच उपप्रधानमन्त्री थापाले आज घोराहीमा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।
उहाँले शासक होइन सेवक भएर काम गर्न तथा विकासका लागि छुट्याएको बजेटलाई सही रुपमा समयमा खर्च गर्नसमेत कार्यालय प्रमुखहरुलाई निर्देशन गर्नुभयो ।
त्यस अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले जिल्लाको समग्र अवस्था विकास, सम्भावना र चुनौतीका बारेमा जानकारी गराउनुभएको थियो । रासस
No comments:
Post a Comment