Wednesday, April 13, 2016

जातीय एकतालाई जोड्दै सिरुवा पर्व

पथरी (मोरङ), १ वैशाख । विशेषगरी चौधरी र राजवंशी समुदायले खुसी साटासाट गरेर मनाउने सिरुवा पर्वमा सबै प्रकारका समुदायको सहभागिता रहने गरेको पाइएको छ ।

गोविन्दपुरको सुनवर्सीमा आज लागेको सिरुवा मेला नयाँ वर्षका अवसरमा आज धुमधामका साथ मनाउन धेरै समुदायको सहभागिता थियो । विशेषगरी चौधरी र राजवंशी समुदायले नयाँ वर्षका अवसरमा धुमधामका साथ परिवारका सबै सदस्यको दीर्घ जीवनको कामना गर्दै खुसी साटासट गरेर यो पर्व मनाउने गरिन्छ । समयको गतिशीलतासँगै विभिन्न जाति, धर्म र सम्प्रदायका मानिसले आज सिरुवा पर्व मनाएका छन् ।

झापाबाट आज गोविन्दपुर आउनुभएकी एलिसा दाहालले मनको कामना पूरा हुने विश्वासका साथ सिरुवा पर्वका अवसरमा मन्दिरमा पूजाआजा गर्न आएको बताउनुभयो । एलिसाको मात्र हैन, सुनसरीका सर्वेन्द्र आचार्य पनि सपरिवार सो मेलामा सहभागी हुनुभयो । सुनवर्सी मेलामा सहभागी हुने अनि पूजा गरेर आफ्नो मनको कामना पूरा गर्ने इच्छा गरेर धेरै आउने समुदाय धेरै छन् ।

पहिला यस्ता सिरुवा मेलामा राजवंशी समुदायका व्यक्तिमात्र रहने गरेको भए पनि पछिल्लो समय सबै समुदाय पर्वमा सहभागी हुन आउने अनि मेलामा रमाउने गरेको गोविन्दपुरका स्थानीय अगुवा शिवदयाल राजवंशीको भनाइ छ ।

मेला हेर्न र मन्दिरमा पूजा गरेर सुनवर्सी माइसँग इच्छाएका कुरा माग्न सबै किसिमका समुदाय जुटेका हुन् । गोविन्दपुरमात्र हैन झापा, सुनसरी र मोरङ जिल्लाका साथै भारतको विहारबाट पनि यो पर्व मनाउन सर्वसाधारणको भीड लागेको छ ।
यो मेला कहिले र कसरी सुरु भयो भने बारेमा कसैलाई पनि हेक्का छैन । यो स्थानमा अहिले पनि आफ्नो मनोकामना पूरा हुने विश्वास रहँदै आएको सुनवर्सी महाराज मन्दिर तथा पोखरी व्यवस्थापन संरक्षण समितिका अध्यक्ष कुमार बुढाथोकीको भनाइ छ ।

सो मेलामा पुग्नुभएका सांसद ऋषिकेश पोखरेल सांसद विकास कोषबाट रु आठ लाख, संस्कृति मन्त्रालयबाट रु दुई लाख तथा अन्य कोषबाट रु पाँच लाख गरी रु १५ लाखको लागतमा निर्माणको काम भइरहेको बताउनुभयो । यस स्थानलाई धार्मिक स्थलका रुपमा विकास गर्दै लैजाने योजनाका साथ सबैको आस्थाका रुपमा सुनवर्सीमा काम भइरहेको पोखरेलको भनाइ छ ।

मोरङको गोविन्दपुरको सुनवर्सीमा मात्र होइन डायनिया, दादरबैरिया, झोराहाट, डंगाहा लगायतका १२ बढी ठाउँमा मेला लागेको छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts