भोजपुर, १५ वैशाख । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले दूरदराजमा पनि इन्टरनेट सेवा विस्तारको योजना रहेको बताउनुभएको छ ।
भोजपुरको घोडेटारमा नवनिर्मित प्राथमिक स्वास्थ्य केन्द्र भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले अबको सूचना र सञ्चारको युगसँगै गाउँगाउँलाई जोड्न सरकार लागि परेको बताउनुभएको हो ।
मन्त्री राईले अहिलेको समय कुराभन्दा पनि काम गर्ने समय हो भन्दै वर्तमान सरकारले प्रतिफलसहितको काम गरेर देखाउने दाबी गर्नुभयो ।
सञ्चारमन्त्री राईले आजै घोरेटारमा ‘ल्याण्डलाइन’ टेलिफोन सेवाको समेत उद्घाटन गर्नुभयो । मोबाइल फोनले राम्ररी काम नगरिरहेको अवस्थालाई मध्यनजर गर्दै सो समस्या समाधान गर्न ल्याण्डलाइन टेलिफोन विस्तार गरिएको हो । घोरेटारका करिव ५० घरमा टेलिफोन सेवा विस्तार गरिएको छ ।
यसैबीच घोरेटार बजारमा आजदेखि एकीकृत घुम्ती सेवा शिविर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, महिला विकास, स्वास्थ्य, कृषि, निर्वाचन, पशु, वन, टेलिकम, बैंक तथा वित्तिय संस्था, सुरक्षा निकायलगायतले शिविर सञ्चालनमा ल्याएका हुन् ।
भोलिसम्म चल्ने सो शिविरबाट रानीवास, होम्ताङ, खैराङ, पात्लेपानी, सिन्दाङलगायत १० भन्दा बढी गाविसका जनता प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । रासस
No comments:
Post a Comment