चौतारा, १५ वैशाख । सिन्धुपाल्चोकको करिब ४० प्रतिशत वन क्षेत्र डढेलोको चपेटामा परेको छ ।
लामो खडेरी र त्यससँगै जनतामा चेतनाको कमी र बुझेर पनि क्षति पु¥याउने हेपाहा प्रवृत्तिले गर्दा जिल्लाका अधिकांश वन जंगलमा दिनहुँ डढेलोको दृश्य देखिन थालेको छ ।
यसै क्रममा जिल्लामा पहिलो पटक डढेलो लगाउने दुई जना पक्राउ परेका छन् । स्याउले गाविस–२ का उद्धव कार्की र ८ का मेखबहादुर कुँवरलाई विशेष सुराकीको आधारमा नियन्त्रणमा लिइएको जिल्ला वन अधिकृत शिवप्रसाद सापकोटाले बताउनुभयो । उनीहरुमाथि वनसम्बन्धी ऐनमा कसुरअनुसार सामुदायिक वन उपभोक्ता समिति र जिल्ला वन कार्यालयले दण्ड जरिवाना गर्नेछ । विगो रु १० हजारभन्दा माथिको कसुर ठहरीएमा अदालतले मुद्दाको किनारा लगाउने वन अधिकृत सापकोटाको भनाइ छ ।
वन कार्यालयका अनुसार गत वर्ष २५ प्रतिशत वन क्षेत्र डढेलोले सखाप पारेको थियो । जिल्लामा कुल २८ हजार हेक्टर सामुदायिक वन रहेको छ । यस वर्ष गत फागुनदेखि वैशाखको दोस्रो सातासम्म ४० प्रतिशत अर्थात ११ हजार २०० हेक्टर वन क्षेत्र डढेलोको चपेटामा परिसकेको छ । यो तथ्याङ्कले गत वर्षको अनुपातमा १५ प्रतिशत वृद्धि भएको देखाउँछ । जिल्लामा दुई नगरपालिका र ६८ गाविस रहेको छ । पश्चिम क्षेत्रका हैबुङलगायत केही गाविस शिवपुरी जलाधार क्षेत्रभित्र पर्दछ । त्यस्तै पश्चिम तथा उत्तरका एक दर्जन गाविस लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ भने उत्तरपूर्वका लिस्ती तातोपानी र फुल्पीङकट्टी–३ गौरी शंकर संरक्षण क्षेत्रभित्र पर्दछ ।
झण्डै एक दर्जन गाविसका बुट्यान मात्र भएका वनलाई वन कार्यालयले डेढ दशक अघिदेखि कबुलियत वनका रुपमा स्थानीयलाई सुम्पिसकेको छ । चालिस वर्षका लागि स्थानीयलाई हस्तान्तरण गरिएका त्यस्ता वनलाई जोगाउने र वृक्षारोपण गर्दै लगिने र त्यहाँभित्रका जमिनमा आय आर्जन हुने खालका खेती गरिँदै आइएको छ ।
जिल्लाका वन नाङ्गो डाँडामा परिणत भएपछि चार दशक अघिबाट अष्ट्रेलियन सरकारको आर्थिक र प्राविधिक सहयोगमा अष्ट्रेलियन वन परियोजनामार्फत वृक्षारोपण गरिएको थियो । त्यसरी गरिएको वृक्षारोपणबाट स्थानीय जातका साल, चिलाउने भन्दा सल्ला जातको रुख बढी भएकाले डढेलोले चाँडो धेरै क्षेत्रमा फैलिएको विज्ञहरु बताउछन् ।
हरेक वर्ष डढेलो लाग्दा हिमाली क्षेत्रमा पाइने चिराइतो, लौठ सल्ला, पाँचऔले, पाखनवेद, जटामसीलगायत जडिबुटीसमेत लोप हुँदै गएको भन्दै हिमाली भेगका बासिन्दाले गुनासो गरेका छन् ।
डढेलोबाट सदरमुकाम चौतारा आसपासका कुनै पनि वन बाँकी रहेका छैनन् । तल्लो भेगबाट लागेको डढेलो क्रमिक रुपमा बढ्दै गएपछि कार्यालय र वस्तीलाई समेत असर पुग्ने देखेपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासी रातको समयमा पनि आगो निभाउने प्रयासमा जुट्दै आएका छन् । “डढेलोले गर्दा वन क्षेत्र नजिकैका स्थानीयवासीलाई आतङ्कित तुल्याइरहेको छ”–प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले भन्नुभयो ।
जिल्लामा हाल ५१२ सामुदायिक वन उपभोक्ता समिति गठन भएको सामुदायिक वन उपभोक्ता महासङ्घ शाखाका अध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिनुभयो । वन डढेलोले ठूला रुखलाई खासै असर नपारे पनि साना बोट विरुवा र जनावरलाई असर पुग्ने जिल्ला वन अधिकृत सापकोटा बताउनु हुन्छ । रासस
No comments:
Post a Comment