काठमाडौँ, ११ वैशाख । शिक्षा विभागका निर्देशक वैकुण्ठ अर्यालले निजी विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका सबै सरोकारवालाको सहमतिमा ल्याइएकाले यसको कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
अखिल (क्रान्तिकारी) ले आज यहाँ आयोजना गरेको ‘निजी विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका कार्यान्वयनको सवाल’ विषयक अन्तक्र्रियामा उहाँले भन्नुभयो–‘प्याब्सन, एनप्याब्सन र अभिभावकलगायतका सरोकारवाला सबैको सहमतिमा निर्देशिका ल्याइएको हो, त्यसैले यसको कार्यान्वयनमा आलटाल गर्नेलाई कार्वाही गर्नेछौँ ।’
काठमाडौँका जिल्ला शिक्षा अधिकारी शङ्करबहादुर गौतमले निर्देशिका कार्यान्वयन नभएको स्वीकार गर्दै विगतका सहमति कार्यान्वयनमा कठिनाइ भइरहेको यसको अनुगमन प्रक्रियासमेत फितलो रहेको बताउनुभयो ।
क्रान्तिकारीका अध्यक्ष रमेश मल्ल, विद्यार्थी आन्दोलनका कारण सरकारले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका बनाएको भए पनि कार्यान्वयन हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।
राष्ट्रिय तथा निजी विद्यालय एसोसियसन (एनप्याब्सन) का अध्यक्ष कर्णबहादुर शाहीले निर्देशिका लागू गर्दा कतिपय शिक्षण संस्था बन्द हुने खतरा रहेकाले त्यसमा पुनः विचार गर्नुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment