काठमाडौँ, २६ चैत । नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) ले उमेरको हदबन्दी नराखी तीन दिनभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई ज्ञापन–पत्र बझुाएको छ ।
नेवि सङ्घ उपत्यकाका ५१ वटा इकाइ सभापतिहरूले संयुक्तरुपमा आज त्रिवि पदाधिकारीलाई चारबुँदे मागसहितको ज्ञापन बुझाएका हुन् ।
पुरानो सहमतिअनुसार निर्वाचनको मिति घोषणा नगरिए सङ्घर्षमा उत्रने नेवि सङ्घले चेतावनी दिएको छ ।
विभिन्न बहानाबाजी गरी उमेर हद सर्तमा केही विद्यार्थी सङ्गठनको मतियार बन्ने त्रिविको नियत रहेको आरोप लगाउँदै नेवि सङ्घले अब प्रत्यक्ष निर्वाचनको मागसहित कालो बजारीयाबिरुद्धको सङ्घर्ष चर्काउनेसमेत ज्ञापनमा उल्लेख छ ।
ज्ञापन बुझ्दै त्रिविका उपकुलपति डा तीर्थ खनियाले आफूहरू निर्वाचन गराउने पक्षमा नै रहेको र उमेर हदको निर्णय वैशाखमा बस्ने सिनेटको बैठकले मात्र टुङ्गो लगाउन सक्ने भएकाले त्यतिन्जेलसम्म धैर्य गर्न आग्रह गर्नुभएको थियो ।
ज्ञापनपत्र बुझ्दै उपकुलपति खनियाले निर्वाचनमा उमेर हदको विषयबारे त्रिवि सभापछि निर्णयमा पुग्ने मनसाय व्यक्त गर्नुभएको नेपाल विद्यार्थी सङघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।
निर्वाचनबारे यसअघि भएको सहमतिअनुसार २०७२ भित्र निर्वाचन गर्दा पहिलोपटक एक निर्वाचनमा उमेरको हदबन्दी नलाग्ने भन्ने त्रिवि पदाधिकारी र विद्यार्थी सङ्गठनबीच सहमति भएको थियो ।
यसैबीच नेवि सङ्घले निर्वाचनको वातावरण बनाउन माग गर्दै सबै क्याम्पस प्रमुखलाई आज ध्यानाकर्षण गराएको छ । प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालदेखि हुन सकेको छैन । रासस
No comments:
Post a Comment