Wednesday, April 6, 2016

मेरो काँधमा थप जिम्मेवारी आएको छ – सभापति देउवा

काठमाडौँ, २४ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएपछि आफ्नो काँधमा थप जिम्मेवारी आएको बताउनुभएको छ ।

आज भएको पार्टीको व्यवस्थापिका–संसद्, संसदीय दलको नेताको निर्वाचनमा विजयी भएपछि नेता देउवाले सञ्चारकर्मीसँग कुरा गर्दै आफूमा गहन जिम्मेवारी थपिएको बताउनुभयो ।

दलको नेतामा सभापति देउवाले १३९ मत र वरिष्ठ नेता रामचन्द्र पौडेलले ६७ मत प्राप्त गर्नुभयो । काँग्रेसमा २०७ सांसद् छन् । “यो पार्टीभित्रको आन्तरिक प्रजातान्त्रिक अभ्यास हो, यसमा जितहार हुदँैन, यसमा जिम्मेवारी कसले पायो भन्ने मात्र हुन्छ” उहाँले भन्नुभयो ।

काँग्रेसले जहाँनियाँ राणाशासन र निरङ्कुश पञ्चायती व्यवस्था हटाएर मुलुकमा प्रजातन्त्रको स्थापना गरेको बताउँदै सभापति देउवाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पार्टीको अहम् भूमिका भएको उल्लेख गर्नुभयो ।

हालसम्मका सबै ठूला राजनीतिक आन्दोलनको नेतृत्व काँग्रेसले नै गरेको दृष्टान्त दिँदै उहाँले यस कार्यमा वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायत नेताको ठूलो त्याग र योगदान रहेको स्मरण गर्नुभयो ।

अब प्रजातन्त्रको खिलापमा जो आए पनि टिक्न नदिने बताउँदै सभापति देउवाले भन्नुभयो, “मुलुकलाई समृद्ध बनाउने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्ने काममा लाग्नु छ । म यस काममा आफ्नो क्षमताले भ्याएसम्म लाग्ने छु ।”

आफ्ना प्रतिस्पर्धी नेता पौडेलको बारेमा सभापति देउवाले आफूलाई नेता पौडेलको सहयोगको आवश्यकता रहेको बताउदै भन्नुभयो, “उहाँलाई विश्वासमा लिएर पार्टीलाई अझ बलियो बनाएर अघि बढाउने छु ।”

मुलकका वर्तमान समस्या समाधानमा आफू र आफ्नो पार्टी गम्भीर भएर लागेको बताउँदै सभापति देउवाले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण गर्नुका साथै भूकम्पपीडित जनताको तत्काल उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

न्यायालय राजनीतिक पार्टीको हस्तक्षेपबाट मुक्त हुनुपर्ने भन्दै उहाँले मधेसका जायज मुद्दा सहमतिका साथ समाधान गरी संविधानको प्रभावकारी कार्यान्वयन गर्न पार्टी लाग्ने बताउनुभयो ।

मुलुकमा स्थायी शान्ति र कसैले खोस्न नसक्ने प्रजातन्त्रका लागि लाग्ने बताउँदै उहाँले भन्नुभयो, “विदेशिएका युवालाई स्वदेशमै काम गर्न वैदेशिक लगानी भित्र्याउनुको विकल्प छैन । यसमा सबै लाग्नुपर्छ ।”

बहुदलीय प्रजातन्त्रमा बलियो प्रतिपक्षी नभएमा सत्तापक्ष निरकुङ्श हुने बताउँदै उहाँले त्यसका लागि काँग्रेसले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts