उर्लाबारी (मोरङ), ७ वैशाख । पेट्रोलियम पदार्थमा गर्ने गरिएको तापक्रम परीक्षणको विषयलाई लिएर विराटनगरका ट्याङ्कर मजदुरले थालेको आन्दोलन फिर्ता लिएका छन् ।
मजदुरले आन्दोलन फिर्ता लिएपछि पेट्रोल तथा डिजेलको ढुवानी र भण्डारणको काम सुरु भएको छ । मजदुरले ट्याङ्करको तल्लो भागबाट तापक्रम जाँच गर्नुपर्ने माग गर्दै गत आइतबारबाट आन्दोलन सुरु गरेका थिए । निगमका ५६० मजदुरले काम ठप्प पार्दा पूर्वाञ्चलमा इन्धनको ढुवानी बन्द भएको थियो । ट्याङ्कर यातायात मजदुर सङ्घका अध्यक्ष केशव आचार्यका अनुसार माग पूरा गर्नका लागि निगमलाई एक साताको अल्टिमेट दिएर मजदुर काममा फर्किएका हुन् । आगामी आइतबारसम्ममा माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने उहाँले बताउनुभयो ।
निगमले भारतको बरौनीबाट ल्याइएको पेट्रोलियम पदार्थको तापक्रम परीक्षण ट्याङ्करको माथिल्लो भागबाट गर्ने गरेका कारण मजदुरलाई नोक्सान भइरहेको उहाँको भनाइ छ । दुई दिन मजदुरले ढुवानी र भण्डारणको काम कारबाही ठप्प बनाउँदा पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको अभाव देखापर्न थालेको थियो । रासस
No comments:
Post a Comment