ताप्लेजुङ, ७ चैत । विवादकाबीच गत मङ्सिरदेखि सङ्कलन भएर थन्किएको पाथीभरा मन्दिरको भेटी बैंकमा जम्मा गरिएको छ ।
गत मङ्सिर ८ गतेदेखि चैत्र मसान्तसम्म झण्डै पाँच महिनाको अवधिमा सङ्कलन भएको रु आठ लाख ४१ हजार ५०० भेटी व्यवस्थापनका लागि बनेको पाथीभरा भेटीघाटी व्यवस्थापन समितिले बैंकमा जम्मा गरेको हो ।
पहिले स्थानीयस्तरमा गठन भएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिले भेटी सङ्कलन गर्ने गरेकामा पारदर्शी नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत सरकारी समिति पाथीभरा क्षेत्र विकास समितिलाई निर्देशन दिएपछि सुरु भएको विवादका कारण सङ्कलित भेटी बैंकमा जम्मा हुन सकेको थिएन् ।
स्थानीय प्रशासनको सक्रियतामा दुवै समितिका पदाधिकारी सम्मिलित भेटी व्यवस्थापन समिति गठन गरी सो समितिको खातामा भेटी जम्मा गर्ने निर्णय भए पनि सो समितिको बैठक बस्न नसक्दा भेटी जम्मा गर्न ढिला भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईले बताउनुभयो ।
मङ्सिरदेखि सङ्कलन गरेर राखिएको भेटी बैंकमा जम्मा हुन नसक्दा सड्ने अवस्थामा पुगेको भन्ने समाचार राष्ट्रिय समाचार समिति (रासस) बाट सार्वजनिक भएपछि गत चैत ३० गते नै सङ्कलन गरेर यही वैशाख २ गते बैंकमा दाखिला गरिएको हो ।
सुन, चाँदी र विदेशी मुद्रा सुरक्षित
यस्तै यस अवधिमा तीर्थयात्रीले चढाएका सुन, चाँदीबाट निर्मित विभिन्न सामग्रीसमेत सो समितिले सुरक्षित गरेको छ । समितिका अनुसार अनुमानित चार तोलाभन्दा बढी सुनका सामग्री रहेका छन् भने चाँदीका झण्डै एक किलो बराबरको सामग्री रहेका छन् । उक्त सामान शिलबन्दी गरेर राखिएको र समितिको बैठक बसेर व्यवस्थापन गरिने बताइएको छ । यस्तै विभिन्न देशका मुद्रासमेत जम्मा गरिएको छ । ती मुद्रा यही सटही नहुने भएकाले हाल सुरक्षित गरिएको हो । रासस
No comments:
Post a Comment