नेपालगन्ज, २१ चैत । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले नेपाली पत्रकारितालाई मर्यादित र थप जिम्मेवार बनाउन त्यसको साङ्गठनिक संरचनामा सुधार गर्नुपर्ने आवश्यकता आँैल्याउनुभएको छ ।
महासङ्घको बाँके शाखाद्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा अध्यक्ष डा विष्टले भन्नुभयो– “जनमुखी पत्रकारितालाई केन्द्रमा राखेर सञ्चार गृहले समाचार सामग्री प्रकाशित गर्नसके नागरिक तहबाट नेपाली पत्रकारिता र पत्रकारको उच्च मूल्याङ्कन हुन्छ, त्यो नै हाम्रा लागि ठूलो पुरस्कार हो ।”
सरकारले ल्याउन लागेको सञ्चार नीति व्यावसायिक पत्रकारिताको सैद्धान्तिक र व्यावहारिक पक्षलाई जोड्न सक्ने हुनुपर्नेमा जोड दिँदै उहाँले सञ्चार नीति जनहितकारी र स्वतन्त्र पत्रकारिताको भावनाबाट अभिप्रेरित हुनुपर्छ भन्नुभयो ।
अध्यक्ष डा विष्टले महासङ्घले संविधानले व्यवस्था गरेको राज्यको प्रादेशिक सङ्घीय संरचनालाई आधार मानेर महासङ्घले पनि आप्mनो साङ्गठनिक ढाँचा निर्माण गर्ने बताउनुभयो ।
“श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिक केही सञ्चार गृहले ‘बढी भयो’ भन्नुमा कुनै तार्किक आधार छैन, रु १४ हजार, रु २० हजार पारिश्रमिक दिन नसक्ने सञ्चार गृहले कसरी व्यावसायिक पत्रकारिता गर्न सक्छ ?”– उहाँको प्रश्न थियो ।
शाखा अध्यक्ष रुद्र सुवेदीको सभापतित्वमा भएको छलफल कार्यक्रममा पत्रकार नीरज गौतम, जनक नेपाल, ठाकुरसिंह थारु, अछरी पोखरेल, गोविन्द शर्मा र विश्वराज पछलडङ्याले महासङ्घको सदस्यता वितरण प्रक्रिया, दुर्घटना बिमाको व्यवस्था र न्यूनतम पारिश्रमिकको कार्यान्वयन पक्षमा महासङ्घको ध्यान जानुपर्ने सुझाव दिनुभयो । रासस
No comments:
Post a Comment