काठमाडौँ, ६ वैशाख । कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त महान्यायाधिवक्ता हरि फुयाँललाई आज पद तथा गोपनीयताको सपथ गराउनुभएको छ ।
राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कामु प्रधानन्यायाधीश कार्कीले फुयाँललाई सपथ गराउनुभएको हो । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल, नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसी लगायत कानुन व्यवसायीको सहभागिता थियो ।
सरकारको कानुनी सल्लाहकारका रूपमा रहने महान्यायाधिवक्तालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । आइतबार प्रधानमन्त्री ओलीले फुयाँललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गरेपछि राष्ट्रपतिले उहाँलाई नियुक्त गर्नुभएको थियो ।
यसअघिका महान्यायाधिवक्ता हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएपछि उक्त पद रिक्त थियो ।
फौजदारी न्याय प्रणाली र मानवाधिकार कानुनमा विशेषज्ञता हासिल गर्नुभएका फुयाँल २५ वर्षदेखि कानुन व्यवसायीका रूपमा क्रियाशील हुनुहुन्छ । उहाँसँग संयुक्त राष्ट्र सङ्घमा काम गरेको अनुभव समेत छ । मोरङको राजघाट गाविसमा विसं २०२७ मा जन्मिनुभएका फुयाँलले मोरङकै जनसेवा माविबाट प्रवेशिका उत्तीर्ण गर्नुभएको थियो ।
उहाँले धरानको महेन्द्र क्याम्पसबाट आइएल, नेपाल ल क्याम्पस, काठमाडौँबाट बिएल तथा भारतको नेसनल ल स्कुल, बैङ्लोर र बेलायतबाट एलएलएम गर्नुभएको छ । रासस
No comments:
Post a Comment