काठमाडौँ, १८ वैशाख । सत्रौँ एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपका लागि खेलाडी छनोट प्रतियोगिताको महिला एक सय मिटर दौडमा सरस्वती चौधरी प्रथम भएकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको स्पर्धामा सरस्वतीले निर्धारित दूरी १२.६ सेकेन्डमा पूरा गरिन् । सोही स्पर्धाको पुरुषमा आशिष खत्री ११.३ सेकेन्ड समय खर्चिंदै पहिलो भए ।
पुरुष ८०० मिटरमा ओमप्रकाश शाह दुई मिनेट ११.२ सेकेन्ड समय निकाल्दै शीर्ष स्थानमा रहे । उक्त स्पर्धाको महिलामा प्रथम भएकी काजल विष्ट दुई मिनेट ४५.५ सेकेन्डमा दौड पूरा गरिन् ।
भियतनामको होचिमिन्हमा आगामी जुन २ देखि ६ तारिखसम्म हुने प्रतियोगिताको छनोटमा २२ खेलाडीको सहभागिता रहेको छ । जसमध्ये एक खेलाडीले भियतनाम जाने अवसर प्राप्त गर्ने नेपाल एथ्लेटिक्स सङ्घले जनाएको छ ।
भूकम्पपीडितको सहयोगार्थ दौड सुरु
भूकम्पपीडितको सहयोगार्थ रामसुन्दर कार्की, राज प्रधान, नारायण आचार्य र डेविड जे इन्ग्रामले ललितपुरको तौलखेलदेखि दोलखासम्मको दौड आज प्रारम्भ गरेका छन् ।
गत वर्षको ‘गोर्खा भूकम्प’का कारण पीडित दोलखाको चरिकोटस्थित गौरीशङ्कर बाल गृहमा आश्रित अनाथ र असहाय बालबालिकाका लागि दुईकोठे भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यले दौड सुरु गरिएको हो ।
करिब १४८ किलोमिटर दूरीको दौड आइतबार अपराह्न ३ बजेतिर पूरा हुने धावक कार्कीले जानकारी गराए । पहिलो दिनको दौड उनीहरुले खाडीचौरमा टुङ्ग्याउने छन् । रासस
No comments:
Post a Comment