भक्तपुरको बिस्केट जात्रालाई आमजनताले पहिलो दिनको भैरवनाथको रथ तान्ने र चौथो दिनको भेलुखेलस्थित ल्योसींखेलमा लिङ्गो ठड्याउने घटनालाई मात्र सम्झने र बुझ्ने गर्छन् । वास्तवमा बिस्केट जात्राको मुख्य आकर्षण नै भैरवनाथको रथ तानातान गर्ने र लिङ्गो ठड्याउने नै हो । तर पनि बिस्केट जात्राको नौ दिन आठ रातमा भक्तपुरका ठाउँ ठाउँमा विभिन्न देवी देवताका जात्रा निकालिन्छ । यिनीहरुको छुट्टै महत्व छ ।
भैरव र भद्रकालीकै सम्मानमा भक्तपुरका टोलटोलमा विभिन्न देवी देवताको जात्रा गरिने धारणा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ राख्नुहुन्छ । बिस्केटको संस्कृतिलाई उचाइमा पु¥याउन र मानिसले मात्र नभई देवी देवताले समेत भैरव र भद्रकालीप्रति सम्मान व्यक्त गरेको देखाउन भक्तपुरका टोल टोलमा रहेका देवी देवताहरुको जात्रा गर्ने प्रचलन सुरु भएको उहाँको भनाइ छ ।
बाराही तिप्वाः जात्रा
बिस्केट जात्राको चौथो दिन अर्थात चैत्र महिनाको मसान्तको दिन अष्टमात्रिकाका शक्तिशाली देवीमध्येका एक बाराहीको बाराही तिप्वाः जात्रा हुन्छ । बिस्केटको लिङ्गो उभ्याउने जात्रापछि भक्तपुर नगरपालिका वडा नं १६ स्थित तेखाचो टोलमा रहेको द्यो छँे (देवघर)मा रहेको बाराहीको मूर्तिलाई खटमा राखी उक्त तिप्वाः जात्रा निकालिन्छ । प्यागोडा शैलीमा निर्मित बाराहीको खटलाई शृंगारपटार गरी बाराहीलाई विराजमान गराइन्छ । यसबेला बाराही द्यो छेँ वंशगोपालदेखि बाराही पीठसम्म हर्षोल्लासका साथ यो जात्रा हुने गर्दछ । यस बेला स–साना बालबालिकादेखि वृद्धवृद्धासमेत चिराग बालेर जात्रामा सहभागी हुने गर्दछन् । जात्रामा हजारौं भक्तालुहरु धूप, बत्ती, सुकुन्दा बालेर जात्रामा सहभागी हुने गर्दछन् । शक्तिकी देवी बाराहीलाई एक रात पीठमै राखी भोलि पल्ट लिङ्गो ढाल्ने र त्यसपछि बाराहीको खटलाई टोल टोलमा लगी पूज्ने र चत्तांमरी लगायत विभिन्न प्रसादहरु चढाउने गरिन्छ ।
इन्द्रायणी देवीको त्वादेवा जात्रा
बिस्केट जात्राका क्रममा निकालिने अष्टमात्रिका शक्तिशाली देवीको जात्रामध्ये इन्द्रायणी देवीको त्वादेवा जात्रा एक हो । यसबेला इन्द्रायणीको खटलाई विभिन्न प्रकारले शृङगार गरेर रथजात्रा निकालिन्छ । सो रथमा इन्द्रायणी देवीको द्यो छेँमा रहेको मूर्तिलाई खटमा विराजमान गराई आफ्नो इलाकामा घुमाइन्छ । इलाकाभित्रका बासिन्दा आ–आफ्नो घरबाट त्वादेवा (देव बत्ती) बालेर जात्रामा सहभागी हुने गर्दछन् । दाफा भजन र बाजाको आवाजले जात्रामा रौनक थपेको हुन्छ ।
भैरव र भद्रकाली रथ जुधाउने जात्रा
बिस्केट जात्राको अर्को आकर्षण भैरव र भद्रकालीको रथ जुधाउने जात्रा पनि हो । परापूर्वकालदेखि नै लिङ्गो जात्राको समापन लगत्तै वैशाख १ गते स्थानीय खँला टोलमा भैरव र भद्रकालीको रथ सङ्गम जात्रा हुने गर्दछ । यसलाई भैरव र भद्रकालीको विवाहको रुपमा पनि लिने गरिन्छ ।
महाकाली र महालक्ष्मीको जात्रा
बिस्केट जात्राको अवसरमा टोलटोलमा हुने जात्राहरुमध्ये अर्को महत्वपूर्ण जात्रा हो – महाकाली र महालक्ष्मीको सङ्गम जात्रा । यो जात्रा वैशाख २ गते भक्तपुरमा धुमधामका साथ मनाइन्छ । जात्राका क्रममा महाकाली द्यो छेँबाट मूर्तिलाई विमान आकारको खटमा राखी भोलाछँेबाट जात्रा सुरु गरिन्छ । अर्कोतर्फ महालक्ष्मीको मूर्तिलाई पनि विमान आकारकै खटमा विराजमान गराई जात्रा निकालिन्छ । यस जात्राको अवसरमा जात्रालुहरुले एकातर्फ पहेँलो टोपी र अर्कोतर्फ रातो टोपी लगाउने परम्परा छ । जात्राका क्रममा मध्यभागमा महाकाली र महालक्ष्मी भेट भएपछि दुवै खटलाई जुधाई सङगम गराउने चलन छ ।
ब्रम्हायणी र महेश्वरीको जात्रा
अष्टमात्रिकामध्ये प्रमुख शक्तिशाली देवीका रुपमा पुजिने देवी ब्रम्हायणी र महेश्वरीको जात्रा वैशाख ३ गते मनाइन्छ । सूर्यमढीस्थित द्यो छेँमा रहेको ब्रम्हायणीको मूर्तिलाई खटमा राखी जात्राको प्रारम्भ गरिन्छ । स्थानीय टोलका बालबच्चादेखि वृद्धवृद्धासम्मले चिराग र मुस्याःख्व बत्ती बाली खटको अगाडि लाग्छन् । स्थानीय इनाचो टोलमा रहेका महेश्वरी द्यो छेँको मूर्तिलाई खटमा राखी शृङगारपटारका साथ जात्रा सुरु गरिन्छ । यी दुवै देवीको आ–आफ्नो इलाकामा जात्रा सुरु भएपछि स्थानीय दत्तात्रय चोकको बीच भागमा ल्याई पु¥याइन्छ र त्यहीँ रथ जुधाइन्छ । यसबेला दुवै खटका प्रसाद र चिराग साटासाट गर्ने प्रचलन छ ।
बटुकभैरव र ज्याठा गणेशजात्रा
बिस्केट जात्राका अवसरमा अष्टमात्रिका देवदेवीहरुको मात्र जात्रा नभई भैरव र गणेशको समेत जात्रा हुन्छ । स्थानीय बुलुचा टोलको बटुक भैरव र कुम्हाले टोलको ज्याठा गणेशको जात्रा यही बेला निकालिन्छ । जात्राका क्रममा खटलाई शृङगारपटार गरी देवताका मूर्ति विराजमान गराइन्छ र खटलाई आ–आफ्नो टोलमा घुमाउने गरिन्छ । सो अवसरमा बटुक भैरव र ज्याठा गणेशको रथ जहाँ भेट्छ त्यहाँ जुधाउने गरिन्छ ।
छुमा गणेश जात्रा
बिस्केट जात्राको आठौं दिन अर्थात वैशाख ४ गतेका दिन छुमा गणेशको जात्रा गरिन्छ । यसबेला शक्तिका देवता छुमा गणेशको मूर्तिलाई खटमा राखी स्थानीय चोछंँे टोलमा घुमाइन्छ । टोलवासीले जात्राका क्रममा घरघरबाट ल्याई चत्तांमरी चढाउँछन् ।
द्यो स्वगं पूजा (सगुन जात्रा)
वैशाख ४ गते मनाइने द्यो स्वगं पूजा पनि बिस्केट जात्राको एक हिस्सा हो । यसलाई स्वगं पूजाको नाममा चिनिन्छ । यो पूजा प्राचीन कालदेखि नै सञ्चालन हुँदै आएको इतिहासमा पाइन्छ । बिस्केट जात्रालाई विस्तृत पारी शक्तिशाली देवदेवीहरुका पूजा गर्ने यो परम्परालाई भाषा वंशावलीमा सगुन पूजा भनी उल्लेख गरिएको छ । यस दिन भक्तपुरका शक्तिशाली देवदेवीहरुलाई आ–आफ्नो द्यो छेँबाट निकाली प्राङगण, सत्तल र पाटीहरुमा राख्ने, पूज्ने र विभिन्न प्रसादहरु चढाउने गरिन्छ । यसै परम्परालाई नै सगुन पूजा भनिन्छ । रासस
No comments:
Post a Comment