काठमाडौँ, ६ वैशाख । विद्यालय बाहिर रहेका अझै ३.४ प्रतिशत विद्यार्थीलाई विद्यालयसम्म पु¥याउन अभिभावकलाई जनचेतनात्मक कार्यक्रम गर्नुपर्ने औँल्याइएको छ ।
शिक्षा पत्रकार समूहको आयोजनामा आज यहाँ भएको अन्तक्र्रियामा शिक्षा क्षेत्रका विज्ञले विद्यालयसम्म विद्यार्थीलाई ल्याउन सकिए पनि उनीहरुलाई टिकाइराख्नु अझै मुख्य समस्याका रुपमा रहेकाले अभिभावकमाझ जनचेतनाका कार्यक्रम लैजानुपर्ने बताउनुभयो ।
शिक्षा मन्त्रालयका सहसचिव डा हरिप्रसाद लम्सालले सात प्रतिशत विद्यार्थीले अहिले पनि बीचमा नै विद्यालय छाड्ने गरेको बताउँदै स्थानीय शिक्षकलाई नै भर्ना अभियान कार्यक्रममा सक्रिय सहभागिता गराएर अभियानलाई तीव्रता दिनुपर्ने औँल्याउनुभयो ।
शिक्षा विभागका निर्देशक बैकुण्ठ अर्यालले २०६१ सालदेखि नै भर्ना अभियान सुरु गरिए पनि अहिलेसम्म ९६.६ प्रतिशत विद्यार्थीमात्र विद्यालयमा आउन सकेकाले ३८ जिल्लामा भर्नादर अझै अन्य जिल्लाको दाँजोमा कम देखिएको बताउनुभयो ।
शिक्षाविद् डा विद्यानाथ कोइरालाले गुणस्तरीय शिक्षासँग राजनीतिक दल र स्थानीय सरकार जोडिएकाले उनीहरुलाई सँगै नलगेसम्म गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिने बताउनुभयो ।
धादिङस्थित सत्यवती उच्च माविका प्रधानाध्यापक लक्ष्मण शर्माले विद्यालयले भर्ना अभियानका क्रममा भएका समस्या र चुनौतीलाई कार्यपत्रमार्फत प्रस्तुत गर्नुभयो । उहाँले विद्यार्थीलाई विद्यालयमा टिकाउनका लागि झोला, स्टेशनरीलगायतका सामग्री दिने कार्यक्रम ल्याए पनि त्यसले विद्यार्थीलाई टिकाउन नसकेको बताउनुभयो ।
कार्यक्रममा अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल शिक्षक सङ्गठनका महासचिव तिलक कुँवर, कीर्तिपुर माविका प्रअ बद्रीप्रसाद खनाललगायतले विद्यालय बाहिर रहेका विद्यार्थीमा अधिकांश अपाङ्गता भएका बालबालिका रहेकाले उनीहरुलाई विद्यालयसम्म पु¥याउन ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment