काठमाडौँ, ७ वैशाख । स्पोर्टस फर अल क्लब नेपाल र राष्ट्रिय खेलकुद सङ्घको सयुक्त आयोजनामा यही वैशाख १८ देखि २५ गतेसम्म तेस्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता हुने भएको छ ।
इलामको फिक्कलमा रहेको करफोक फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी १० टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस फर अल क्लबका अध्यक्ष लोकबहादुर शाहीले जानकारी दिनुभयो ।
गत वर्षको वैशाखमा हुने भनिएको उक्त प्रतियोगिता विनाशकारी भूकम्पका कारण हुन सकेको थिएन ।
प्रतियोगितामा मोरङ ११, त्रिवेणी युथ क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, शसस्त्र प्रहरी बल (एपिएफ) पूर्वाञ्चल फुटबल टोली, ताप्लेजुङ ११, मकवानपुर ११ फुटबल टोली र इलाम ११ फुटबल टोलीले प्रतिस्र्धा गर्नेछन् ।
त्यसैगरी भारतबाट कञ्चनजङ्गा फुटबल क्लब सिलुगुडी, दार्जलिङ ११ र सारे फुटबल क्लब कालिङपोङ सहभागी हुँदैछन् । पत्रकारसम्मेलनमा जारी गरिएको खेल तालिकाअनुसार वैशाख १८ गतेको उद्घाटन खेल दार्जलिङ ११ र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले रु एक लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु ५० हजार पाउनेछन् । यसअघि भएको पहिलो र दोस्रो संस्करणको खेल क्रमशः जनकपुर र इलाममा भएको थियो । रासस
No comments:
Post a Comment