काठमाडौँ, १५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मङ्गलबार उहाँकै कार्यकक्ष सिंहदरबारमा स्वीडेनका अन्तर्राष्ट्रिय विकास सहयोग मन्त्री इसाबेला लोभिनले भेट गर्नुभयो ।
भेटका अवसरमा उहाँहरुबीच वातावरणीय दिगोपना तथा लगानी, लैङ्गिक समानता, विकास सहायतालगायतका दुई मुलुकको आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नयाँ संविधान जारी हुनुलाई ठूलो उपलब्धि मान्दै स्वेडिस मन्त्री लोभिनले नेपाल सरकारलाई बधाई दिनुभयो र भूकम्पपछिको नेपालको पुनःनिर्माण अभियानलाई सघाउने प्रतिबद्धता जनाउनुभयो ।
हिजै उहाँले उपप्रधान तथा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री चन्द्रप्रकाश मैनालीसँग भेट गर्नुभयो । साथै, अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग पनि उहाँले भेटवार्ता गर्नुभयो ।
आफ्नो नेपाल भ्रमणका दौरानमा स्वेडिस मन्त्रीले काठमाडौँ, भक्तपुर र पाटन दरबार क्षेत्रको भ्रमण गर्नुभएको थियो । उहाँले आइएम नेपाल र अन्य साझेदार सङ्गठनहरुसँग बैठक पनि गर्नुभयो ।
आफ्नो तीन दिन लामो नेपाल भ्रमण सम्पन्न गरी उहाँ आज याङ्गुन प्रस्थान गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस
No comments:
Post a Comment