काठमाडौँ, २४ चैत । राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोटको दसेरालगायतका गाविसमा आइतबारदेखि देखिएको झाडाबान्ताले महामारीको रुप लिने सम्भावना देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
आज एक पे्रस विज्ञप्ति जारी गर्दै आयोगले झाडाबान्तासम्बन्धी सञ्चारमाध्यममा समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
झाडाबान्ताको समस्याबाट दसेरा गाविसमा मात्र ४० जनाभन्दा बढी बिरामी परेको र अधिकांश बिरामी एसएलसी दिँदै गरेका विद्यार्थी, केन्द्राध्यक्ष र निरीक्षक रहेकाले बिरामीको तत्काल उपचार गर्न सरकारलाई अनुरोध गरिएको छ ।
आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गर्नु भएको विज्ञप्तिमा बिरामीको तत्काल उपचार सुरु गर्न तथा सङ्ख्या थप बढ्न नदिन स्वास्थ्यकर्मीको टोली यथाशीघ्र प्रकोप स्थलमा खटाउन एवम् एसएलसी परीक्षा दिइरहेका विद्यार्थीको स्वास्थ्यप्रति विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभएको छ ।
उहाँले विगतको वर्षमा सोही क्षेत्रमा एसएलसी परीक्षाको समयमा फैलिएको स्वाइनफ्लुले महामारीको रुप लिएका कारण दर्जनाँैको ज्यान गएको तथा विसं २०६६ र २०७१ मा पनि सोही जिल्लामा फैलिएको झाडाबान्ताको महामारीले सयौँको ज्यान गएको स्मरण गर्दै समयमै त्यसतर्फ सरकारको ध्यान जान जरुरी भएको उल्लेख गर्नु भएको छ ।
यस्तै, सरकारले भूकम्प प्रभावितलाई दोलखा जिल्लाको सिंगटीबाट अनुदान दिन सुरु गरेको बुझिए पनि यससम्बन्धी कार्य विधिगत त्रुटीलगायत विभिन्न कारणले भूकम्प प्रभावितले अनुदान प्राप्त गर्न कठिनाइ भएको अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको पनि जनाएको छ ।
यस विषयमा आयोगले नेपाल सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदै पत्राचार गरेको उल्लेख गर्दै नजिकिँदै गएको बर्सातको समयमा भूकम्प प्रभावितको अवस्था नाजुक हुनेतर्फ सचेत गराउँदै तत्काल भूकम्पपीडितको उचित बसोबासको व्यवस्था मिलाउन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । रासस
No comments:
Post a Comment