खोटाङ, ९ जेठ । टेम्के तुवाचुङ प्रतिष्ठानले साहित्यकार चन्द्र रानोहँछालाई सर्वोत्कृष्ट साहित्यिक पुरस्कार प्रदान गरेको छ ।
प्रतिष्ठानले आज खोटाङको दिक्तेलमा औपचारिक कार्यक्रमको आयोजना गरेर साहित्यकार रानोहँछालाई नगद रु ११ हजार १११ राशिको सर्वोत्कृष्ट साहित्यिक पुरस्कार प्रदान गरेको हो ।
जिल्ला तथा जिल्ला बाहिर रहेर साहित्यिक लेख तथा रचना प्रकाशन गर्ने चारजना खोटाङ्गे लेखकमध्ये ‘थिबिया चराको गीत’ गीतिसङ्ग्रहका लेखक रानोहँछालाई सर्वोत्कृष्ट रचनाकारका रुपमा पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले जानकारी दिनुभयो ।
पुरस्कारका लागि ‘बहुलाही आमा र सुनौलो सपना’ कथा सङ्ग्रहका कथाकार कृष्णश्री राई, ‘भेटिएको डायरी’ उपन्यासका उपन्यासकार गोपालचन्द्र राई र ‘नपुङ्सक स्वर्गको विरुद्ध आगो’ कविता सङ्ग्रहका कवि सोनाम किरातीको आवेदन परेको थियो ।
आगामी वर्षमा भाषा, कला, साहित्य, गीतलगायतमा प्रकाशित कृतिका लेखकमध्ये सर्वोत्कृष्ट कृतिका लेखकलाई पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ । हरेक वर्ष विभिन्न विधामा पुरस्कृत गर्दै जाने उद्देश्यका साथ प्रतिष्ठानले अक्षयकोष खडा गरेको छ ।
दिक्तेलस्थित समीक्षालय भवनमा गरिएको कार्यक्रममा जिल्ला तथा जिल्ला बाहिरका साहित्यिक स्रष्टा÷सर्जकले आआफ्नो कला प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यकार उपेन्द्र सुब्बा, गायिका आभा मुकारुङ र गायक रेवत राईको विशेष प्रस्तुति रहेको थियो । रासस
–––––––
No comments:
Post a Comment