काठमाडौँ, ४ जेठ । विभिन्न टुक्रामा विभक्त माओवादी घटकले यही जेठ ६ गते औपचारिक रुपमा पार्टी एकताको घोषणा गर्ने भएका छन् ।
एकीकृत नेकपा (माओवादी), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(माओवादी), क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेत्रविक्रम चन्दको नेतृत्वमा रहेका माओवादी र नयाँ शक्ति नेपालमा लागेकाहरुले संयुक्त रुपमा एकताको घोषणा गर्ने तयारी गरेका हुन् ।
पार्टी एकतालाई अन्तिम रुप दिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, नेकपा(क्रान्तिकारी माओवादी)का तर्फबाट रामबहादुर थापा, देव गुरुङ, हितमान शाक्य, कुलप्रसाद केसीलगायतको समूहले साङ्गठनिक तथा सैद्धान्तिक विषयमा छलफल गर्ने जिम्मेवारी तोकिएको छ ।
एकताका लागि राजनीतिक प्रतिवेदन लेख्ने जिम्मा एमाओवादी अध्यक्ष दाहाललाई दिइएको छ । उहाँ यतिखेर प्रतिवेदन लेखनमा व्यस्त रहनुभएको उहाँको सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले एकताका न्यूनतम आधारसम्बन्धी १३ बुँदे सहमतिमा हस्ताक्षर भएपछि सोही आधारमा विस्तृतमा व्याख्या गर्दै एकता भेलामा प्रस्तुत गर्ने तयारी गरिएको छ ।
उहाँले मुलुकको पछिल्लो राजनीतिक अवस्था, माओवादी घटकको एकता किन, एकताको आधार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी कार्यभारबारे राजनीतिक प्रतिवेदनमा उल्लेख गर्ने तयारी गर्नुभएको छ । त्यस्तै साङ्गठनिक तथा सैद्धान्तिक आधार पनि प्रतिवेदनमा समावेश गरिनेछ ।
अध्यक्ष दाहालले एकता प्रक्रियालाई गति दिनका लागि आकस्मिक भेटघाट तथा सार्वजनिक सबै कार्यक्रम स्थगित गर्नुभएको छ ।
एमाओवादीका प्रवक्ता दीनानाथ शर्माका अनुसार यही जेठ ६ गतेका लागि एकता प्रक्रिया घोषणा गर्ने तयारी गरिएको छ । आवश्यक तयारी भइरहेको जानकारी दिँदै उहाँले बुधबार अबेरसम्म धेरै विषय टुङ्गो लाग्ने उल्लेख गर्नुभयो ।
माओवादी घटकबीच एकता प्रक्रियालाई टुङ्गो लगाउन एमाओवादी अध्यक्ष दाहाललाई सैद्धान्तिक र विधान टुङ्गो लगाउन थापालाई जिम्मा दिइएको छ । सकेसम्म सबै पक्षलाई समेटेर एकता प्रक्रिया टुङ्गो लगाइने प्रवक्ता शर्माको कथन छ ।
यस्तै सरकार, सदन र सडकबाट जनताका एजेन्डालाई पूरा गर्न प्रतिबद्ध भएर लाग्ने सहमतिसमेत माओवादी घटकले गरेका छन् । एकताका लागि तयार गरिएको १३ बुँदे सहमतिका आधारमा अगाडि बढ्ने एकता प्रक्रियालाई अन्तिम निष्कर्ष दिइनेछ ।
‘सबै माओवादी एक ठाउँ’ भन्ने नाराका साथ क्रमशः एकता प्रक्रियामा समाहित भएका माओवादीका नेता तथा कार्यकर्तालाई साङ्गठनिक रुपमा समेत व्यवस्थापन गरिनेछ । एकता घोषणा भएको एक वर्षभित्र महाधिवेशन गर्ने तयारीसमेत गरिएको छ । हाल एमाओवादीको केन्द्रीय समितिमा १५० जना रहेको, बादलसँगै आउने सबै, क्रान्तिकारी कम्युनिष्ट पार्टी र अन्य घटकबाट आउने सबैलाई समेटेर ४९९ जनाको केन्द्रीय समिति बनाउने तयारी गरिएको छ ।
महाधिवेशनसम्म अध्यक्षमा दाहाल रहेर अरु सबै केन्द्रीय सदस्यमा रहने, नियमित कामका लागि सचिवालय गठन गर्ने गरी अगाडि जाने वा के गर्ने भन्ने विषयमा भने छलफल जारी रहेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाका अनुसार एकता प्रक्रियालाई पूर्णता दिने गरी सबै विषयलाई टुङ्गो लगाइनेछ । रासस
No comments:
Post a Comment