Thursday, May 19, 2016

भूकम्प अति प्रभावित जिल्लाका लगत सङ्कलन सम्पन्न

काठमाडौँ, ६ जेठ । गोरखा भूकम्पले अति प्रभावित १४ जिल्लामध्ये १० जिल्लाको लगत सङ्कलन सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

पुस तेस्रो सातादेखि विभागले अति प्रभावित सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुली, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर, ओखलढुङ्गा र रामेछापमा लगत सङ्कलन सुरु गरेको थियो ।

अति प्रभावित ११ जिल्लाको सङ्कलन सकिइ अन्तिम तथ्याङ्क शुक्रबारसम्म आउने विभागका निर्देशक ढुण्डीराज लामिछानेले राससलाई जानकारी दिनुभयो । स्थलगत रुपमा लगतका सूचना इन्जिनियरले सर्भरमा हाले पनि अहिले प्रयोगमा ल्याइएको प्रविधिका कारण भोलिसम्म लगत आउन समय लाग्ने उहाँले बताउनुभयो ।

“सङ्कलन सकिएका ११ जिल्लाको लगत हेर्दा भूकम्पलगत्तै गृह मन्त्रालयमा आएको तथ्याङ्कभन्दा कम देखिएको छ, त्यसबेला र अहिलेको सङ्कलन प्रविधि फरक भएकाले पनि यस्तो देखिएको हुन सक्छ, अहिलेको तथ्याङ्क अन्तर्राष्ट्रिय सिद्धान्तअनुरुप सङ्कलन गरिएको छ”– उहाँले भन्नुभयो, “सात लाख ५० हजार घरको तथ्याङ्क सङ्कलन गर्दा ७८ प्रतिशत घर अति प्रभावित र २२ प्रतिशत घर कम प्रभावित भएको पाइयो ।”

उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर भक्तपुरमा पनि लगत सङ्कलन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । असार पहिलो साता सुरु गर्ने गरी काम भएको निर्देशक लामिछानेले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts