काठमाडौँ, २४ वैशाख । नेपालको संविधान जारी भएपछि पहिलो पटक आउन लागेको बजेटले समाजका सबै तह र तप्कालाई समेट्न सक्नुपर्नेमा जोड दिइएको छ ।
आव २०७३÷७४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा व्यवस्थापिका–संसद्मा भएको छलफलमा भाग लिने अधिकांश सांसदले मुलुक नयाँ राजनीतिक प्रणालीका साथ नयाँ परिवेशमा अघि बढिरहेको अवस्थामा पुरानै ढर्राबाट बजेट ल्याउन खोजियो भने जनअपेक्षा पूरा हुनै नसक्ने बताउनुभयो । उहाँहरुले भन्नुभयो, “मुलुकको ६६ प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषिमा संलग्न छ, जनताको हित र देशको समृद्धिको पक्षलाई ध्यान दिएर कृषि, ऊर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन हुनुपर्छ ।”
प्रत्येक निर्वाचन क्षेत्रमा पाँच किमी कालोपत्रे सडक र एउटा पुल बनाउने कार्यक्रमलाई निरन्तरता दिँदै गाविसलाई कम्तीमा रु ५० लाख रकम विनियोजन गर्न माग गर्दै सांसदले भूकम्पबाट मुलुकको पहिचान बोकेका काष्ठमण्डप, धरहरा लगायत सम्पदा ढलेको एक वर्ष भइसक्दा पनि कसले बनाउने र कहिले बन्ने भन्नेसम्म पनि टुङ्गो लाग्न नसक्नु दुःखदायी कुरा हो भन्नुभयो ।
अर्थमन्त्रीले पूर्व बजेटका लागि प्रस्तुत गरेको विधेयकलाई सत्ता पक्षका सांसदले सन्तुलित भनेर समर्थन गरेका थिए भने प्रतिपक्षले सो विधेयकका आधारमा आउने बजेटले देशमा परिवर्तनको कुनै महसुस गराउन नसक्ने तर्क प्रस्तुत गर्नुभएको थियो ।
रोजगारीका लागि लाखौँ युवा बिदेसिनुपर्ने अवस्था अन्त्य गर्न बजेटले स्वदेशमै रोजगार प्रदान गर्ने उत्पादनका क्षेत्रमा बजेट विनियोजन हुनुपर्छ भन्दै उहाँहरुले बर्सेनि हुने आगलागी, डढेलो, बाढी, पहिरो रोकथामका क्षेत्रमा पनि बजेट देखिनुपर्छ भन्नुभयो ।
कृषिलाई आधुनिकीकरण, जलस्रोतको उपयोग र वनको विकास र विस्तारमा सरकारले विशेष चासो दिनुपर्छ भन्दै सांसदले राष्ट्रको गौरवको बूढीगण्डकी आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्ने गरी बजेटमा कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।
कृषकलाई मलखादमा अनुदान दिइनुपर्छ, सिँचाइमा अनुदान दिइनुपर्छ भन्दै उहाँहरुले मुलुकमा धेरै रोजगारी दिने र जनतालाई पाल्ने कृषि क्षेत्रलाई वेवास्ता गरेर बजेट नल्याउन अर्थमन्त्रीलाई सुझाव दिनुभयो ।
पहुँचवालालाई बजेटले खोज्ने तथा पहुँच नहुनेले बजेट खोज्दै जानुपर्ने अवस्थालाई अन्त्य गर्न आवश्यक रहेको बताउँदै उहाँहरुले भन्नुभयो, “बिजुली, बाटो, विचार, वन र बजार अहिले मुलुकको आवश्यकता हो ।”
छलफलमा भाग लिँदै नेकपा (एमाले)का भरतमोहन अधिकारीले भूकम्पपछिको पुनर्निर्माण र नेपालको आर्थिक समृद्धिको बाटो कसरी अगाडि बढ्छ भन्ने विषयलाई समेटेर बजेट ल्याइनुपर्छ भन्नुभयो ।
पूर्वअर्थमन्त्री अधिकारीले अहिले विप्रेषणले मात्र देशको आर्थिक स्थिति धान्दै आइरहेको, अधिकांश खेतबारी बाँझै भएकाले नै कृषिमा आयात बढेकाले कृषिको उत्पादन बढाउने र आयात कसरी घटाउने भन्ने विषयलाई बजेटले ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका राधेश्याम अधिकारीले मुलुकको भौगोलिक अवस्था र खडेरी लगायत कारण मल र खाद्यान्नको भण्डारण, काठमाडौँ–हेटौँडा सुरुङमार्ग निर्माण, विद्युत्को विकास, प्रसारण र वितरणलाई आउँदो बजेटले विशेष रुपमा सम्बोधन गर्नुपर्छ भन्नुभयो ।
छलफलमा सांसद लक्ष्मण राजवंशी, तारिणीदत्त चटौत, ध्यानगोविन्द रञ्जित, श्रीप्रसाद जगेबु, गीता क्षेत्री, परशुराम तामाङ, जयदेव जोशी, राजेन्द्रप्रसाद पाण्डे, तुलसा राना, राजन केसी, रवीन कोइराला, गुरु बुर्लाकोटी, मदनकुमारी शाह लगायतले भाग लिनुभएकोे थियो । रासस
No comments:
Post a Comment