काठमाडौँ, ४ जेठ । नेपाल विद्यार्थी सङ्घमा उमेरको हद लगाउनुपर्ने विद्यार्थी नेताले माग गरेका छन् ।
विभिन्न क्याम्पसका नेवि सङ्घका नेताले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेवि सङ्घको राजनीतिमा ४० वर्ष उमेर नाघेका व्यक्ति अध्यक्ष बन्ने गरेको भन्दै आपत्ति जनाएका छन् ।
नेवि सङ्घ ग्रामीण आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष सुशील भट्टले युवालाई नेतृत्वमा स्थापित गर्नका लागि सामाजिक एजेण्डा बनाएर जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेवि सङ्घको नेतृत्वलाई नेतामुखी भन्दा पनि शैक्षिक एजेण्डामा लाग्ने व्यक्ति बनाउनुपर्छ ।”
नेवि सङ्घ पद्यकन्या बहुमुखी क्याम्पसकी अध्यक्ष साधना घिमिरेले क्याम्पस छाडेका पाँच वर्षसम्म पनि नेवि सङ्घको नेता हुने गरेको भन्दै अबको अधिवेशनले यसलाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।
नेवि सङ्घ नेपाल ल क्याम्पसकी अध्यक्ष रञ्जिता कार्कीले नेवि सङ्घको महाधिवेशन समयमा हुन नसक्दा सङ्गठनमा युवा आउन नसकेको गुनासो गर्नुभयो ।
नेवि सङ्घ एनआर क्याम्पसका अध्यक्ष परोपकार अधिकारी, थापाथली क्याम्पसका अध्यक्ष नारायण घिमिरे, वाल्मिकी क्याम्पसका अध्यक्ष रवीन्द्र बराकोटी, मनोहर क्याम्पसका अध्यक्ष निरञ्जन थापालगायतले विद्यार्थी नभएका व्यक्ति विद्यार्थी राजनीतिमा आएको भन्दै अबको महाधिवेशनमा यस विषयलाई सामाजिक मुद्धा बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस
No comments:
Post a Comment