फलेवास (पर्वत), १९ वैशाख । देविस्थानका किसानले आफ्नै लगानी र सक्रियतामा कालीगण्डकीको पानी ११६ मिटर उँचाइको गाउँसम्म ल्याएर सिँचाइ सुरु गरेका छन् ।
देविस्थान गाविस– ८ स्थित सदाबहार कृषक समूहले रु १४ लाखको लगानीमा कालीगण्डकीको पानी तानेर सिँचाइ र खानेपानीका रुपमा प्रयोग गर्न थालेका छन् । ‘नेपाल एग्रिकल्चर एन्ड फरेस्टी’को सहयोगमा तीन वर्षअघि देखिको योजना बल्ल सफल भएको समूहका अध्यक्ष भरतकुमार श्रेष्ठले बताउनुभयो ।
समूहको रु चार लाख ४० हजार, स्थानीयबाट सङ्कलन गरिएको रु ६ लाख, जिल्ला कृषि विकास कार्यालयको रु दुई लाख ५० हजार र जिविसको रु ५० हजार सहयोगमा उक्त परियोजना सञ्चालनमा आएकोे हो । देविस्थानका ६, ७ र ८ वडाका करिब १५० घरधुरीले उपयोग गर्ने पानीको क्षमता प्रतिघन्टा आठ हजार ३३३ लिटर रहेको छ भने करिब २०० रोपनी क्षेत्रफलमा तरकारी तथा अन्य खेती गर्न सकिने छ ।
पानी तान्न ६० प्रतिशत विद्युत् अनुदानमा उपलब्ध गराएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पर्वतका प्रमुख विजय अधिकारीले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment