पिसाङ (मनाङ), २२ वैशाख । हिमालपारीको जिल्ला मनाङमा हिमाल आरोहणका क्रममा एक रसियन नागरिक बेपत्ता भएका छन् ।
माथिल्लो मनाङको पिसाङ हिमाल आरोहण गर्न यही वैशाख २१ गते पिसाङ हिमाल पुगेका आरोहण टोलीका रसियन नागरिक सर्जी बेपत्ता भएका हुन् । मङ्गलबार आरोहण सकेर फर्कने क्रममा एकाएक सर्जी बेपत्ता भएपछि खोजी कार्य तीव्र बनाइएको छ ।
सर्जीको खोजीका लागि बुधबार दिनभर हेलिकप्टर प्रयोग गरिएपनि खराब मौसमका कारण हेलिकप्टर ल्यान्ड गर्न नसकेएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
नेपाली गाइडसँग डोरीमा झर्दै गरेका सर्जीलाई बारम्बार साथीहरूको संयुक्त डोरी प्रयोग गर्न आग्रह गरिएको तर सर्जी आफू एक्लै झर्न सक्छु भन्दै अटेर गरेपछि साथीहरूले उनीलाई एक्लै छाडेका थिए ।
आरोहण दलका छजना पिसाङ आएको घन्टौँसम्म पनि सर्जी नआएपछि उनको खोजीमा स्थानीय लागेका थिए । गत वर्षको भूकम्पपछि हिमालमा गहिरा गल्छीहरू बढेकाले सर्जी कुनै गल्छी वा खोँचमा फसेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । रासस
No comments:
Post a Comment