काठमाडौँ, १ जेठ । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले भूकम्प र नाकाबन्दीले थिलथिलो बनाइएका नेपाली जनतालाई अधिकार प्राप्तिका नाममा बन्द हडताल गरेर फेरि दुःख र पीडा नदिन आग्रह गर्नुभएको छ ।
पार्टीद्वारा आज राजधानीको बानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले संविधानले सबैलाई शान्तिपूर्ण विरोध गर्ने अधिकार प्रदान गरे तापनि अरु नागरिकको अधिकार हनन हुन हुँदैन भन्ने पक्षमा सचेत रहन ध्यानाकर्षण गराउनुभयो ।
राज्य सञ्चालनको पटक–पटक जिम्मेवारी बहन गरेका राजनीतिक दलका केही नेताबाट आफ्नो माग पूरा भएन भने गृहयुद्धसम्म हुन सक्छ भन्ने अभिव्यक्ति आउनु दुःखद पक्ष भएको बताउँदै अध्यक्ष न्यौपानेले भन्नुभयो– “जनता र राष्ट्रको हितविपरीत बोल्ने कसैलाई अधिकार छैन ।”
सोही पार्टीका सचिव सङ्गम लामाले नेपाली जनताको दुइ तिहाई बहुमतका आधारमा जारी भएको संविधानलाई युग सुहाउँदो बनाउन सहमतिका आधारमा संशोधन गर्न कुनैखाले बन्द हडतालको आवश्यकता नपर्ने धारणा व्यक्त गर्नुभयो ।
पार्टी प्रवक्ता प्रकाश निरौलाले जनताको भावना विपरीत देशलाई अस्तव्यस्त तुल्याउने कसैलाई अधिकार नभएको हुँदा जनतालाई कसैले दुःख दिन खोजे त्यसको प्रतिकार गर्नसमेत आफ्नो पार्टी तयार रहेको चेतावनी दिनुभयो । रासस
–––––––––
No comments:
Post a Comment