Saturday, May 14, 2016

पद्मरत्नलाई ‘नेवाः अधिकार’ पुरस्कार

काठमाडौँ, १ जेठ । नेवाः अधिकार सिरपाः गुथिले नेपाल भाषाका प्रख्यात साहित्यकार तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरलाई आज ‘तेस्रो नेवाः अधिकार’ पुरस्कार प्रदान ग¥यो ।

नेवाः लगायत सम्पूर्ण आदिवासी जनजातिको अधिकार प्राप्तिका लागि दशकौँदेखि निरन्तररुपमा निर्वाह गर्दै आउनुभएको अगुवाको भूमिकाप्रति सम्मान दर्शाउँदै उहाँलाई यो पुरस्कार प्रदान गरिएको हो । यो पुरस्कारका लागि डा महेशमान श्रेष्ठ र मोहिनी श्रेष्ठले रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

नेपाल भाषा साहित्य फाँटमा प्रगतिशील धारका लेखकरुपमा परिचित तुलाधर सिद्धहस्त प्रहसन ९ख्याःल० लेखक र निबन्धकार रुपमा चिनिनुहुन्छ । उहाँले फत्तेबहादुर सिंहको सम्पादकत्वमा निस्कने ‘नेपाल भाषा पत्रिका’लाई लामो समय निरन्तरता दिनुभएको थियो ।

नेपाल भाषा मंकाः खलःका अध्यक्ष रहिआउनुभएको तुलाधरले नेपाल भाषा र संस्कृति जगेर्ना र नेपाल सम्वत्लाई राज्यस्तरबाट मान्यता दिलाउन नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । पछिल्लो समय द्वन्द्व व्यवस्थापनमा दमन ढुङ्गानासँगै सहजकर्ता भूमिकामा रहनुभएका उहाँ हाल मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष हुनुहुन्छ । लोकतन्त्रको पुनःबहालीपछि स्वास्थ्यमन्त्रीसमेत रहनुभएका तुलाधर एकताका राष्ट्रिय पञ्चायतमा ‘बहुदल’को माग गरेर देशभित्र र बाहिर चर्चामा आउनुभएको थियो । उहाँ अहिले आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका संयोजक हुनुहुन्छ ।

गुथिका अध्यक्ष डा श्रेष्ठले मुलुकको आन्तरिक कचिङ्गलका कारण पटक पटक विदेशी शक्तिले नेपालको राजनीतिमा खेल्ने मौका पाइरहेको बताउनुभयो ।

आदिवासी जनजातिलाई समान अधिकार दिएर शान्ति बहाली र राष्ट्रिय एकता मजबूत पार्ने काम राज्यबाट भए विदेशी शक्ति हावी हुन नसक्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

जनकवि दुर्गालाल श्रेष्ठले साँस्कृतिक आन्दोलनमा जीवनभर होमिनुभएका तुलाधरको पदचाप पछ्याउने अठोट आज सबै कार्यकर्ता गर्नुपर्ने बताउनुभयो ।

सम्मानित व्यक्तित्व तुलाधरले दश वर्षको उमेरदेखि राजनीतिक परिवर्तनमा लागि सडक उत्रिएको स्मरण सुनाउँदै गणतान्त्रिक संविधानबाट समेत आदिवासी जनजातिको माग सम्बोधन नभएको दुखेसो पोख्नुभयो । अधिकारको आन्दोलन अघि बढाउन अब अरु ढिलो गर्न नहुने उहाँको भनाइ थियो ।

अधिकारकर्मी मल्ल के सुन्दरले तुलाधरको बहुआयामिक व्यक्तित्व र साँस्कृतिक आन्दोलनमा उहाँको नेतृत्वदायी भूमिकाको चिनारी दिनुभएको थियो ।

यो पुरस्कार यसअघि नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समिति र विराट नेपालभाषा साहित्य सम्मेलन भक्तपुरलाई प्रदान गरिसकिएको छ ।

तुलाधरलाई श्रेष्ठ दम्पतीले अभिनन्दनपत्र र रु ३५ हजार प्रदान गर्नुभएको थियो भने मल्ल के सुन्दर र दुर्गालाल श्रेष्ठले दोसल्ला ओढाई उहाँको सम्मान गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts