काठमाडौँ, २० वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको सफल कार्यान्वयनलाई राष्ट्रिय र साझा एजेन्डा बनाइनुपर्ने बताउनुभएको छ ।
सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्षमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयन प्रक्रियाप्रति सुस्तता छाएको भन्दै यसको कार्यान्वयनका लागि साझा सङ्कल्प र दृढ प्रतिबद्धताका साथ लाग्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।
“संविधान कार्यान्वयन प्रक्रिया सुस्त भएको हो कि भन्ने जनताका गुनासा सुनिन थालेका छन् । मलाई स्वयम् पनि त्यस्तै लागेको छ । संविधान कार्यान्वयन प्रक्रिया जति ढिलो भयो त्यति नै असन्तुष्टि बढ्दै जान्छ, यसमा जिम्मेवार पक्षले बोध गर्न जरुरी छ”– उपराष्ट्रपति पुनले भन्नुभयो ।
उहाँले संविधानप्रति असन्तुष्टि जनाउने राजनीतिक दललाई वार्ता र संवादमार्फत असमझदारी र असन्तुष्टिको समाधान खोज्न पनि सरकार र राजनीतिक दललाई आग्रह गर्नुभयो ।
उपराष्ट्रपति पुनले आजको युगमा सूचना प्रविधिको प्रयोगबिना मुलुकको विकास सम्भव नरहेको भन्दै सूचना प्रविधिको पहुँचमा हुने र नहुने वर्गबीचको खाडल अन्त्य गरी समानरुपमा दुर्गम भेगसम्म प्रविधिको पहुँच विस्तार गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले बजेट तथा कार्यक्रमको अभावले प्रविधिको पहुँच विस्तार गर्न नसकिएको बताउनुभयो ।
उहाँले विज्ञान र प्रविधिको विकासका लागि मन्त्रालयले संरचनागत सुधारका काम थालेको पनि उल्लेख गर्नुभयो ।
मुख्यसचिव डा सोमलाल सुवेदीले विज्ञान र प्रविधिका माध्यमबाट मुलुकको विकासका लागि नीतिगत रुपमै प्रभावकारी कार्य गरिनुपर्नेमा जोड दिनुभयो ।
सूचना प्रविधि विभागका महानिदेशक वीरेन्द्रकुमार मिश्रले सूचना प्रविधिको पहुँचलाई ग्रामीण भेगसम्म पु¥याउन लागिपरेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्ल र क्यान महासङ्घका अध्यक्ष विनोद ढकालले सूचना प्रविधिको महत्वलाई प्राथमिकता दिएर राज्यले नीतिगत रुपमै यसको प्रयोग र प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।
सूचना प्रविधि विभाग र कम्प्युटर एसोसिएसन नेपाल क्यान महासङ्घले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा विपद्मा उत्कृष्ट काम गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंकलाई वेष्ट आइसिटी युजर इन पब्लिक सर्भिस अवार्ड र प्रोफेस्नल कम्प्युटर सिस्टमलाई वेष्ट आइसिटी इन प्राइभेट सेक्टर अवार्ड प्रदान गरियो । दुवै अवार्ड उपराष्ट्रपति पुनले प्रदान गर्नुभएको थियो । रासस
No comments:
Post a Comment