कञ्चनपुर, ८ जेठ । नेकपा (एमाले)का केन्द्रीय कमिटी सचिव पृथ्वीसुब्बा गुरुङले चीन र भारतसँग सुमधुर सम्बन्ध कायम गरी सरकारले कार्य अगाडि बढाइरहेको बताउनुभएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा (एमाले) नगर कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्नुहुँदै उहाँले विगतका सरकारहरु भारतमा मात्रै निर्भर रहँदै आएकाले समस्या खेप्नु परेकाले भारत जस्तै चीनसँग सम्बन्ध कायम गरेर अगाडि बढ्नु सरकारको सकारात्मक कदम भएको बताउनुभयो ।
दुवै छिमेकीसँग समान व्यवहार गरेर अगाडि बढेमात्रै देशमा विकास र राजनीतिक स्थिरता कायम हुने उहाँले बताउनुभयो ।
राष्ट्र जोगाउनका लागि सबै राजनीतिक दलले एक ठाउँमा उभिनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले नेकपा (एमाले) नेतृत्वको सरकारमा सबै राजनीतिक दलको प्रतिनिधित्व आवश्यक रहेको बताउनुभयो ।
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमअनुरुप स्थानीय निकायको निर्वाचन निर्धारित समयमै हुने भएकाले सबैले यसका लागि तयार हुनुपर्ने उहाँले बताउनुभयो ।
सो अवसरमा पूर्व सभासद् शान्ता चौधरीले थारु समुदायले जातीय मुद्दालाई मात्रै प्राथमिकता नदिएर वर्गीय मुद्दा उठाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का जिल्ला अध्यक्ष तारा लामा तामाङ, सचिव सुरेन्द्र विष्ट, महाकाली इन्चार्ज रामकुमार ज्ञवाली र पूर्व सांसद लालबहादुर विश्वकर्मालगायतले बोल्नुभएको थियो । रासस
No comments:
Post a Comment