काठमाडौँ, १९ वैशाख । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले बन्द भएका सरकारी उद्योगधन्दा एवम् प्रतिष्ठानलाई पुनःसञ्चालनमा लागि दबाब दिन मजदुरलाई आग्रह गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा अखिल नेपाल टे«ड युनियन महासङ्घले आज यहाँ आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले उद्योगधन्दा बन्द गराउने र मुलुकलाई परनिर्भर बनाउने प्रवृत्तिलाई रोक्न पनि सङ्घर्षको जरुरी रहेको बताउनुभयो ।
विगतमा स्थापना भएका उद्योगधन्दा बन्द गरेर मुलुकलाई कङ्गाल र आर्थिक रुपमा परनिर्भर बनाइएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो– “संविधानमा प्राप्त भएको अधिकारलाई संस्थागत गर्दै मजदुर वर्ग अगाडि बढ्नुपर्छ । त्यसका लागि श्रमजीवी वर्गको साथ र सहयोग जरुरी छ । त्यसका अलावा अब नयाँ खालको सङ्घर्ष पनि आवश्यक छ ।”
उहाँले मजदुरको रोजीरोटीसमेत धान्न नसक्ने ज्याला र श्रम समस्याको समाधान, सामाजिक सुरक्षा तथा अन्य अधिकारको विषयमा प्रष्ट एजेन्डाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
हेटाँैडा कपडा उद्योग, छाला जुत्ता कारखाना, जनकपुर चुरोट उद्योगलगायत ठूला र महत्वपूर्ण उद्योग व्यवसाय बन्द गरिएको, बन्द नभएका उद्योगसमेत विगतमा निजीकरण गरिएका कारण मुलुकभित्र रोजगारीको अवसर गुमेको भन्दै उहाँले आन्दोलनको बलमा ती उद्योग पुनःस्थापना गर्नुपर्ने बताउनुभयो ।
उद्योगधन्दा लावारिस बनाउने, निजीकरण गर्ने प्रवृत्तिविरुद्ध स्थानीय तहदेखि केन्द्रसम्म सशक्त सङ्घर्ष गर्नुपर्ने र त्यसका लागि योजनाबद्ध प्रयासको समेत जरुरी रहेको अध्यक्ष दाहालको कथन थियो ।
रोजगारीको खोजीमा विश्वका विभिन्न मुलुकमा पुगेका नेपाली श्रमिक तथा मजदुरको आत्मसम्मान नभएको, अनेकौँ हैरानी खेप्नु परेको भन्दै उहाँले त्यस्ता लज्जाको विषय हटाउन र मुलुकभित्रै रोजगारी दिनुपर्ने उल्लेख गर्नुभयो ।
भूकम्पपछिको पुनःनिर्माणका लागि राष्ट्रिय एकता र सहमतिको जरुरी रहेको र सबै पक्ष मिलेर जानुको विकल्प नभएको तथा राष्ट्रिय सहमति अत्यावश्यक रहेको स्पष्ट पार्नुभयो ।
मधेसी, आदिवासी, जनजातिलगायतका समुदायले संविधानमा सकारात्मक संशोधन होओस् भन्ने अपेक्षा राखेको भन्दै उहाँले त्यसका लागि नेतृत्व गर्न आफ्नो पार्टी तयार रहेको र राष्ट्रिय एकतासमेत आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र अखिल नेपाल टे«ड युनियन महासङ्घका अध्यक्ष शालिकराम जमरकट्टेलले समाजवादउन्मुख संविधानलाई कार्यान्वयन गर्न मजदुर वर्गको सकारात्मक सहयोगको जरुरी रहेको उल्लेख गर्नुभयो ।
यसअघि शान्तिबाटिकाबाट निकालिएको पदयात्रा सहिदगेट, सुन्धारा, रत्नपार्क हुँदै शान्तिकाबाटिकामा पुगेर अन्त्य भएको थियो । रासस
No comments:
Post a Comment