काठमाडौँ, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा सार्थक बनाउने गरी आगामी बजेट आउने बताउनुभएको छ ।
नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयनमुखी बनाउने प्रकारको बजेट आउने जनाउनुभयो ।
उहाँले नीति तथा कार्यक्रम विगतको निरन्तरता, केही नयाँ, महत्वाकाङ्क्षी र विकासको गतिलाई तीव्रता दिने प्रकारको भएको र आगामी बजेट पनि त्यहीअनुसारको हुने स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले प्रतिपक्षीले विरोध गर्ने विषय नपाएपछि नीति कार्यक्रम पुरानै निरन्तरता वा महत्वाकाङ्क्षी भनेर विरोधाभासपूर्ण आलोचना गरिएको टिप्पणी गर्नुभयो ।
विभिन्न क्षेत्रका स्रोताले राखेका राजनीतिक, समसामयिक र जनसरोकारका सवालमा जवाफ दिँदै उहाँले संविधानको कार्यान्वयनका क्रममा सबै शक्ति मिलेर जानुपर्ने, संविधानमा कुनै संशोधन हुनुपर्ने विषय भएमा छलफल गर्न सकिने र २०७४ माघ ७ अगावै संसद्को निर्वाचन गराइसक्ने बताउनुभयो ।
उहाँले कार्यक्रमबाटै आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटालाई टेलिफोनमा आपूर्ति व्यवस्था सहज बनाउन निर्देशन दिनुभयो । उहाँले आपूर्ति व्यवस्थामा तदारुकताका साथ वैकल्पिक व्यवस्था गरेर भएपनि सहज आपूर्ति दिलाउन आग्रह गर्नुभयो ।
आगामी बजेटमा किसान हकहितका लागि कस्ता कार्यक्रम हुन्छन् भन्ने एक किसानको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यावसायिकीकरण गर्नेगरी बजेट आउने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो– “कृषि क्षेत्रमा उथलपुथल हुनेगरी बजेट आउँछ, १४ दिन कुर्नुस्, बजेट आएपछि हेर्दै ताली बजाउन पाउनुहुनेछ ।”
उहाँले आफूले छिमेकी मुलुकसँगको भ्रमणमा नेपालको विकासलाई तीव्रता दिने गरी सम्झौता भएको र आफूले राष्ट्रियताको स्वार्थलाई सदैव माथि राख्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संसदीय समितिले सरकार आफैँले राष्ट्रिय गौरवको काठमाडौँ– निजगढ द्रुतमार्ग बनाउन भनेकाले त्यहीअनुसार गर्ने भनाइ राख्नुभयो ।
उहाँले छिमेकी चीनसँगको रेल सञ्जाल विस्तार, पूर्व–पश्चिम राजमार्ग फराकिलो पार्ने र पूर्व–पश्चिम रेल मार्गको सर्वेक्षण पनि गर्ने जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment