काठमाडौँ, ३० वैशाख । नइ प्रकाशनले आआफ्ना क्षेत्रमा समर्पित भई ख्याति आर्जन गरेका देशविदेशका नौ महानुभावलाई २०७२ सालको नइ पुरस्कार प्रदान गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले यहाँ आज आयोजित कार्यक्रममा जनही रु ५० हजार राशिका ती पुरस्कार प्रदान गर्नुभयो । सोही समारोहमा शताब्दी पुरुष सत्यमोहन जोशीको ९७औँ जन्मोत्सव पनि मनाइयो ।
‘नइ भूपालदुर्गा’ पुरस्कारबाट संस्कृतिविद् तथा मानवशास्त्री प्रा डा प्रेम खत्री, ‘नइ चन्द्रधन पुरस्कार’बाट भारत, काशी ललिताघाट क्षेत्रका प्रमुख स्वामी ओमकारानन्द गिरी र ‘नइ कीर्तिधिनि पुरस्कार’बाट राष्ट्रवादी चिन्तक यज्ञप्रसाद आचार्य पुरस्कृत हुनुभयो ।
साथै ‘नइ ईश्वर बराल पुरस्कार’ समालोचक प्रा राजेन्द्र सुवेदी, ‘नइ रेखा पुरस्कार’ साहित्यकार प्रा डा गार्गी शर्मा र ‘नइ गणेशदुर्गा पुरस्कार’ भारत सिक्किमका साहित्यकार डा पुष्प शर्मा, ‘नइ भाजप पुरस्कार’ साहित्यकार, पत्रकार तथा अनुवादक झापाका नकुल काजी, ‘नइ कोइलीदेवी पुरस्कार’ गायिका ज्ञानु राणा, ‘नइ रामलक्ष्मी पुरस्कार’ तेस्रो लिङ्गी सुमन महर्जन र ‘नइ गणेशदुर्गा पुरस्कार’ भारत सिक्किमका साहित्यकार डा पुष्प शर्मालाई प्रदान गरियो ।
त्यस्तै इन्दिरा प्रसाईंद्वारा सम्पादित समालोचनात्मक ग्रन्थ ‘नरेन्द्रराज प्रसाईँकृत भानु जीवनः मूल्य र मान्यता’ को लोकार्पण गरियो । सो ग्रन्थमा नेपाली साहित्यका २९ समालोचकका समीक्षा समाविष्ट छन् ।
सामारोहमा प्रमुख अतिथि कार्कीले विविध विधाका प्रतिभाको योगादनको नइ प्रकाशनद्वारा कदर भई आएको चर्चा गर्नुभयो । कार्यक्रममा नइ प्रकाशनका उपाध्यक्ष प्रा डा रामप्रसाद उप्रेती र सदस्यसचिव नरेन्द्रराज प्रसाईँले प्रकाशनबारे जानकारी दिनुभएको थियो । रासस
No comments:
Post a Comment